Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

नियामकीय व्यवस्था उल्लंघन : राष्ट्र बैंकको कारबाहीमा ९ वाणिज्य बैंक

२०८३ श्रावण २२ गते

बैंकिङ खबर /  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा नियामकीय व्यवस्था उल्लंघन गर्ने ९ वटा वाणिज्य बैंकमाथि विभिन्न कारबाही गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक सुपरिवेक्षण प्रतिवेदनअनुसार बैंक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराउने, सञ्चालक समितिसँग सुधारात्मक कदम चाल्ने कबुलियतनामा गराउनेदेखि नगद जरिवानासम्मका कारबाही गरिएको हो।
पहिलो त्रैमासमा कुमारी बैंक र प्राइम कमर्सियल बैंक कारबाहीमा परे। कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्ति तथा संस्थासँगको कारोबारसम्बन्धी निर्देशन उल्लंघन गरेपछि बैंकलाई सचेत गराइयो। प्राइम कमर्सियल बैंकले कर्जा वर्गीकरण, कर्जा नोक्सानी व्यवस्था र जोखिम भार गणनासम्बन्धी कमजोरी देखिएकाले सीईओलाई सचेत गराइयो।

दोस्रो त्रैमासमा एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथि कारबाही भयो। एनआईसी एशियाले निर्देशन उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको र लिखित आदेशसमेत पालना नगरेपछि तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र सीईओ रोशनकुमार न्यौपानेलाई जनही २ लाख रुपैयाँ जरिवाना गरियो। ग्लोबल आइएमई बैंकमा कर्जा नोक्सानी व्यवस्था, पुनर्संरचना प्रक्रिया र कोर बैंकिङ प्रणालीमा कमजोरी भेटिएपछि सीईओलाई सचेत गरियो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कर्जा सुरक्षण, ब्याजदर अन्तर र चालू पुँजी कर्जा मार्गदर्शन उल्लंघन भएको पाइएपछि सञ्चालक समिति र सीईओलाई सचेत गराइयो।

तेस्रो त्रैमासमा हिमालयन बैंक मात्रै कारबाहीमा पर्यो। बैंकले ब्याकडेटबाट ब्याज छुट दिएको, कर्जा पुनरतालिकीकरण, कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थासम्बन्धी निर्देशन पालना नगरेको पाइएपछि सञ्चालक समिति र सीईओलाई सचेत गरियो। साथै सुधारात्मक कदम चाल्ने प्रतिबद्धतासहित कबुलियतनामा पनि गराइयो।

चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक कारबाहीमा परे। राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्था समयमै कार्यान्वयन नगरेकाले सचेत गराइयो। प्रभु बैंकले भने राष्ट्र बैंकका निर्देशन पटक–पटक उल्लंघन गरेको, कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थामा कमजोरी दोहोरिएको तथा राष्ट्र बैंकमा बुझाएको विवरण र कोर बैंकिङ प्रणालीबीच फरक देखिएकाले सञ्चालक समितिसँग सुधारात्मक कबुलियतनामा गराइएको छ। साथै तत्कालीन सीईओ अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।