Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ क्षेत्रमा बोनस वितरणको लहर, कुन बैंकका कर्मचारीले कति पाए अग्रिम बोनस ?

२०८३ श्रावण ६ गते

बैंकिङ खबर/ यस वर्ष हालसम्म उपलब्ध जानकारीअनुसार नबिल बैंकले सबैभन्दा बढी तीन महिनाको तलब बराबर अग्रिम बोनस वितरण गरेको छ। बैंकिङ क्षेत्रमै सबैभन्दा आकर्षक अग्रिम बोनसमध्ये एक मानिएको यस निर्णयले कर्मचारीबीच उत्साह बढाएको छ। स्रोतका अनुसार यो कुल बोनसको प्रारम्भिक हिस्सा मात्र हो र बाँकी रकम आवश्यक नियामकीय स्वीकृति तथा वार्षिक साधारणसभापछि वितरण गरिने तयारी छ। त्यसपछि सानिमा बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंकले आफ्ना कर्मचारीलाई दुई महिनाको तलब बराबर अग्रिम बोनस उपलब्ध गराएका छन्। यी तीन बैंकले साउनको पहिलो सातामै बोनस वितरण प्रक्रिया सुरु गरेका हुन्। उनीहरूमा पनि हाल वितरण गरिएको रकम कुल बोनसको प्रारम्भिक अंश भएको र बाँकी बोनस वित्तीय विवरण स्वीकृतिपछि उपलब्ध गराइने जनाइएको छ।यस्तै, कुमारी बैंक र ग्लोबल आईएमई बैंकले कर्मचारीलाई डेढ महिनाको तलब बराबर अग्रिम बोनस वितरण गरेका छन्। बैंकिङ स्रोतका अनुसार यी बैंकहरूले पनि आर्थिक वर्षको मुनाफाका आधारमा बोनसको पहिलो किस्ता वितरण गरेका हुन्। अन्तिम वित्तीय नतिजा र नियामकीय प्रक्रिया पूरा भएपछि थप बोनस वितरण हुने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले भने आफ्ना कर्मचारीलाई एक महिनाको तलब बराबर अग्रिम बोनस उपलब्ध गराएका छन्। दुवै बैंकले बोनसको प्रारम्भिक हिस्सा वितरण गरिसकेको र बाँकी बोनस नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भएपछि तथा वार्षिक साधारणसभा सम्पन्न भएसँगै उपलब्ध गराउने तयारी गरेको जानकारी बैंकिङ स्रोतले दिएको छ। यसबीच लक्ष्मी सनराइज बैंकले भने अग्रिम बोनस वितरणमा केही फरक रणनीति अपनाएको छ। बैंकले साउन १५ गतेपछि मात्रै बोनस वितरण गर्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म उठ्नुपर्ने ब्याज साउन १५ गतेभित्र उठेमा त्यसलाई अघिल्लो आर्थिक वर्षकै आम्दानीमा समावेश गर्न सकिने व्यवस्थाअनुसार बैंकले अन्तिम वित्तीय विवरण तयार गरी त्यसकै आधारमा बोनस गणना गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ।

नेपालको बोनस ऐन अनुसार नाफा कमाउने प्रत्येक संस्थाले वार्षिक खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने कानुनी व्यवस्था छ। यही प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाहरूले बोनसको केही हिस्सा आर्थिक वर्ष समाप्त भएपछि अग्रिम रूपमा वितरण गर्ने र बाँकी रकम नेपाल राष्ट्र बैंकको आवश्यक स्वीकृति तथा वार्षिक साधारणसभापछि उपलब्ध गराउने अभ्यासलाई निरन्तरता दिँदै आएका छन्।बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार बोनस केवल कर्मचारी सुविधा मात्र नभई संस्थाको वित्तीय स्वास्थ्य र कार्यसम्पादनको एउटा सूचक पनि हो। राम्रो मुनाफा आर्जन गर्ने बैंकले आकर्षक बोनसमार्फत कर्मचारीलाई प्रोत्साहित गर्ने गरेका छन् भने यसले कर्मचारीको मनोबल, उत्पादकत्व र संस्थाप्रतिको प्रतिबद्धता बढाउन पनि सहयोग पुग्ने विश्वास गरिन्छ।

यस वर्षको बोनस वितरणले बैंकहरूबीचको वित्तीय क्षमता र मानव संसाधन व्यवस्थापनको दृष्टिकोणमा रहेको भिन्नता पनि देखाएको छ। कतिपय बैंकले उच्च अग्रिम बोनसमार्फत कर्मचारीलाई प्रोत्साहन दिएका छन् भने केहीले नियामकीय प्रक्रिया पूरा भएपछि मात्र बोनस वितरण गर्ने नीति अपनाएका छन्। आगामी वार्षिक साधारणसभा र अन्तिम वित्तीय विवरण सार्वजनिक भएसँगै कर्मचारीले पाउने कुल बोनसको वास्तविक आकार अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।