२०८२ चैत्र २९ गते

धनाड्य अर्थमन्त्री, करोडौंको सम्पत्ति, घरजग्गा र नगद पनि धेरै नै !

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा घरजग्गा, सुन, विभिन्न बैंकमा नगद र जलविद्युत कम्पनीहरूमा लगानी रहेको पाइएको छ । डा. वाग्लेले सार्बजनिक गरेको सम्पत्ति विवरण अनुसार ललितपुरमा दुईवटा अपार्टमेन्ट तथा धुलिखेलमा एउटा घर छ । ललितपुरको अपार्टमेन्टको खरिद मूल्य २ करोड र अर्कोको ५ करोड रुपैयाँ उल्लेख गरिएको छ । त्यस्तै, धुलिखेलमा ३ करोड ७५ लाख मूल्यको घर, तनहुँको बन्दीपुरमा २ करोडको घर रहेको उल्लेख छ । काठमाडौँको चन्द्रागिरिमा २० लाख मूल्यमा खरिद गरेको ३ रोपनी जग्गा, रत्ननगरमा ८० लाख मूल्यको ५ कठ्ठा जग्गा, तनहुँको भानुमा ८ लाख ५० हजार मूल्यको ६ रोपनी जग्गा, गोरखामा पैतृक जग्गाहरू रहेको उल्लेख छ । वाग्लेको जलविद्युत क्षेत्रमा अपर मादी हाइड्रोमा ३ करोड, ठूलो खोलामा ६० लाख र नेसनल फण्ड म्यानेजमेन्टमा करिब ९० लाख रुपैयाँ, सानिमा मिडिल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता तथा सांग्रिला विकास बैंकमा २५ हजार ७ सय बढी कित्ता सेयर रहेको पाइएको छ । यसैगरी वाग्लेसँग ४५ तोला सुन, विभिन्न बैंकहरूमा करिब १ करोढ ९० लाख रुपैयाँ बचत रहेको छ । यसैगरी ९४ लाख रुपैयाँमा खरिद गरेको गाडी उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।