
बैंकिङ खबर / चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म नेपालमा भित्रिएको रेमिट्यान्स उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो। अमेरिकी डलरमा हेर्दा यस अवधिमा करिब १० अर्ब १५ करोड बराबर रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ।
फागुन महिनामा मात्र १ खर्ब १८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो, जसको तुलना गर्दा फागुनमा केही गिरावट देखिएको छ।
यता, वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। चालु आर्थिक वर्षको आठ महिनामा अन्तिम श्रम स्वीकृति ( नयाँ तथा व्यक्तिगत ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ।
गत आर्थिक वर्षको यही अवधिमा भने नयाँ श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको थियो। यसले वैदेशिक रोजगारीतर्फ जाने नयाँ कामदारको संख्या घट्दै गएको संकेत गर्छ। समग्रमा, वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने उल्लेख्य रूपमा बढिरहेको तथ्यांकले देखाएको छ।

