
बैंकिङ खबर / चैत महिनाका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा ४.५६ प्रतिशत थियो भने चैतमा घटेर ४.४९ प्रतिशत रहेको छ, अर्थात् ०.०७ प्रतिशत बिन्दुले कमी आएको हो।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्। संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि चैतमा ०.०३ प्रतिशत बिन्दुले घटेको छ। चैतमा सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.१ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत रहेको छ।
त्यस्तै कृषि विकास बैंकले ४.२५ प्रतिशतबाट घटाएर ४.१५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ४.२५ प्रतिशतबाट ४.११ प्रतिशत, कुमारी बैंकले ४.४३ प्रतिशतबाट ४.१२ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.७५ प्रतिशतबाट ४.२५ प्रतिशत र प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशतबाट ४.१५ प्रतिशतमा झारेका छन्।
अन्य बैंकमध्ये नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीमा ४.२५ प्रतिशत ब्याजदर कायम राखेका छन्। माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी सनराइज, सानिमा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर यथावत राखेका छन्।
प्रभु बैंक र नबिल बैंकले ४.५५ प्रतिशत ब्याजदर कायम राख्दा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजदर कायम गरेका छन्।



