२०८२ फाल्गुन २७ गते

माघमा उपभोक्ता मुद्रास्फीति ३.२५%

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८२ साल माघ महिनामा नेपालमा वस्तु तथा सेवाको मूल्य बढ्ने दर (मुद्रास्फीति) ३.२५ प्रतिशत रहेको छ। यो अघिल्लो वर्षको सोही महिनाको ४.१६ प्रतिशतभन्दा कम हो, जसले सामानको मूल्य वृद्धि सामान्य भएको सङ्केत गर्दछ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ,यद्यपि अघिल्लो वर्ष सोही अवधिको औसत मुद्रास्फीति ४.८६ प्रतिशत थियो।

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ। गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६६ प्रतिशत रहेको छ। खाद्य वस्तुहरूमा तरकारीको मूल्य ११.६३ प्रतिशतले बढेको छ। घ्यू तथा तेल ७.६१ प्रतिशत र फलफूल ७.४१ प्रतिशतले महँगिएको छ। तर दाल तथा गेडागुडीको मूल्य ५.१९ प्रतिशतले घटेको छ भने केही खाद्य वस्तु र मरमसलाको मूल्य पनि घटेको छ।

गैर-खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य २१.९८ प्रतिशत रहेको छ। त्यस्तै शिक्षाको शुल्क ७.४६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको मूल्य ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थ ३.८५ प्रतिशतले बढेको छ। सञ्चार सेवाको मूल्य भने ०.०८ प्रतिशतले घटेको छ।

क्षेत्र अनुसार हेर्दा ग्रामीण क्षेत्रमा मूल्य २.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा ३.५१ प्रतिशतले बढेको छ। प्रदेशगत रूपमा मधेस प्रदेशको मुद्रास्फीति ५.१४ प्रतिशतसहित सबैभन्दा बढी रहेको छ। कोशी प्रदेशको ३.५३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.२९ प्रतिशत, बागमती प्रदेशको ३.१० प्रतिशत, गण्डकी प्रदेशको २.४२ प्रतिशत, सुदूरपश्चिम प्रदेशको १.६४ प्रतिशत र कर्णाली प्रदेशको १.६२ प्रतिशत मुद्रास्फीति रहेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ। तराई क्षेत्रमा ३.६६ प्रतिशत, पहाडी क्षेत्रमा २.६८ प्रतिशत र हिमाली क्षेत्रमा २.५८ प्रतिशत रहेको छ।

माघमा थोक बजारमा मुद्रास्फीति ६.२१ प्रतिशत पुग्यो, अघिल्लो वर्षको ३.४७ प्रतिशत भन्दा बढी। उपभोग्य वस्तु ०.७२ प्रतिशत, मध्यवर्ती वस्तु ९.८३ प्रतिशत, पुँजीगत वस्तु ३.२१ प्रतिशत , र निर्माण सामग्री २.०४ प्रतिशतले मूल्य बढ्यो।

सन् २०२६ जनवरीमा भारतको वार्षिक उपभोक्ता मुद्रास्फीति २.७५ प्रतिशत थियो। सोही अवधिमा नेपालमा ३.२५ प्रतिशत।