बैंकिङ खबर / नागरिक लगानी कोषले ३१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
साधारणसभाले सोही आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। यससँगै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान विवरण तथा नगद प्रवाह विवरण पनि स्वीकृत गरिएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले हालसम्म कोषका कार्यक्रममा समावेश हुन नसकेका स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका नागरिकलाई लक्षित गरी नागरिक पेन्सन योजनालाई थप विस्तार गरिने बताउनुभयो। उहाँले कोषको बचत संकलनको दायरा क्रमशः बढाउँदै लैजाने योजना रहेको उल्लेख गर्नुभयो।
कोषले आगामी दिनमा नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनाहरूमा लगानी वृद्धि गर्ने, सहभागी कर्जा कार्यक्रम विस्तार गर्ने, सेयर धितोमा आधारित कर्जा उपलब्ध गराउने तथा जोखिम मूल्यांकनका आधारमा पूर्वाधार क्षेत्रका परियोजनामा लगानी बढाउने रणनीति अघि सारेको छ।
साधारणसभामा सेयरधनीहरूले उठाएका जिज्ञासामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले स्पष्ट पारे। उहाँले कोषको वर्तमान वित्तीय अवस्था प्रस्तुत गर्दै प्राप्त सुझावहरूलाई आगामी कार्यदिशामा समेटिने प्रतिबद्धता जनाउनुभयो।
कार्यकारी निर्देशक कार्कीका अनुसार, पछिल्ला वर्षहरूमा नागरिक लगानी कोष ऐनले तोकेको समयसीमाभित्र साधारणसभा आयोजना गर्न कोष सफल हुँदै आएको छ। उहाँले डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको जानकारी पनि दिनुभयो। तर, हाल बजारमा अधिक तरलता रहेकाले कोषसँग रहेको रकम प्रभावकारी रूपमा परिचालन गर्न चुनौती रहेको उहाँको भनाइ छ।
लगानी विविधीकरणका लागि नीतिगत सुधार, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रिया, जलविद्युत आयोजनामा लगानीको तयारी तथा उत्पादनशील क्षेत्रमा कर्जा विस्तारका लागि गृहकार्य भइरहेको पनि उहाँले बताउनुभयो।
सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म नागरिक लगानी कोषको खुद कोष मौज्दात रकम २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। यसैबीच, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको प्रतिनिधिका रूपमा नारायणप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन्।