January 5th, 2017

सामान्य अंकले घटेर बन्द भयो सेयर कारोबार : कारोबार थोरै बढ्यो

साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेको सुरुमा बढेको बजार अन्ततः ३.६८ अंकले घटेर बन्द भएको हो । बुधबार १४५८.१३ अंकमा पुगेर बन्द भएको नेप्से परिसूचक विहीबार १४५४.१४ अंकमा झरेको छ । कारोबार भएका समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ४१.३४ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः २.३१, १५.८६, ४.८३, ४.२९, १.६ र ०.८७ अंकले घटेका छन् । 

कारोबार रकममा बुधबारको तुलनामा थोरै बढेको छ । बुधबार ३२ करोडको कारोबार भएको बजारमा विहीबार ३५ करोडको कारोबार भएको छ । दिनभरिमा १२८ वटा कम्पनीको १२ लाख १२ हजार चार सय ७४ कित्ता सेयर तीन हजार ६८ पटक खरिदविक्री हुँदा कुल ३५ करोड सात लाख ७२ हजार दुई सय नौ रुपैयाँ पुँजी परिचालन भएको हो । 

कुल कारोबारमध्ये कुमारी बैंकको दुई करोड ४४ लाख ८३ हजार सात सय ६० रुपैयाँको कारोबार भएको छ । शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकको एक करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने नेपाल टेलिकम र बैंक अफ काठमाण्डू लुम्बिनीको एक करोड ३० लाखमाथिको कारोबार भएको छ । सिभिल बैंक र सिटिजन्स बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ । नेशनल हाइड्रो, नविल बैंकको प्रोमोटर लगायतको ९९ लाखको सेयर कारोबार भएको छ । 

एनबि इन्स्योरेन्सका सेयरधनीले ९.८८ प्रतिशतका दरले कमाउँदा कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ९.७८ प्रतिशतका दरले कमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक र ङादी ग्रुप पावरका सेयरधनीले क्रमशः ७.७२ र ५९४ प्रतिशतका दरले कमाएका छन् । साना किसान विकास बैंक, भार्गव विकास बैंक, एनएमबि सुलभ फण्ड, तिनाउ डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, ललितपूर फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको नागबेली लघुवित्तका सेयरधनीले ५.३९४६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स, तारागाउँ रिजेन्सी, वरियन्टल होटल्स, प्रिमियर इन्स्योरेन्स, पूर्णिमा विकास बैंक, वोमी माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, मिथिला लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।