January 4th, 2017

स्वाबलम्बन लघुवित्तको लाभांश पारित

स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडका सेयरधनीले ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश पाउने भएका छन् । बैंकको बुधबार काठमाडौँमा सम्पन्न १५ औं वार्षिक साधारण सभाले सो लाभांश पारित गरेको हो । 

वित्तीय संस्थाको हाल कायम अधिकृत पूँजी रु.५० करोडलाई बृद्धि गरी रु.१ अर्ब पुर्याउने विशेष प्रस्ताव सहितको साधारणसभाले आ.व. २०७२/७३ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी ४१ करोड ८५ लाख ८९ हजार रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ ।

स्वाबलम्बन लघुवित्तले ४९ जिल्लाका १२३ कार्यालयबाट २ लाख ९ हजार ७ सय ४७ महिला सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा बैंकको लगानीमा रहिरहेको कर्जा रकम रु.६ अर्व ९९ करोड ३ लाख ११ हजार पुगेको छ । बैंकको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको वचत यस अवधिसम्ममा रु.३ अर्व ४२ करोड ९८ लाख ५२ हजार रहेको छ । 

राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकका रुपमा कारोवार गरिरहेको यस लघुवित्त वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामिण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढिरहेको छ ।