२०८२ कार्तिक २८ गते

विकासको सम्भावनामा गण्डकी प्रदेश : आर्थिक सूचांक पनि अब्बल र स्थायीत्व

बैंकिङ खबर / देशमा विकास हुँदै गरेको पूर्वाधारले गण्डकी प्रदेशलाई निकै सम्भावनाको प्रदेशका रुपमा देखाएको छ । पर्यटन, कृषि र उर्जाको धनी प्रदेशका रुपमा रहेको उक्त प्रदेशका आर्थिक सूचकहरु पनि मजबुत देखिएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणका आधारमा तयार गरिएको गण्डकी प्रदेशका सम्भावना र विकासका बारे यो रिपोर्ट हेरों ।

यस प्रदेशको मुख्य सम्भावना रहेको क्षेत्र पर्यटन हो । विश्वका १४ उच्च हिमशिखरमध्ये ३ वटा धौलागिरी (८१६७ मि.), मनास्लु (८१६३ मि.) र अन्नपूर्ण प्रथम (८०९१ मि.) गण्डकी प्रदेशमा अवस्थित छन् । बिश्वको सर्वोच्च उचाइमा रहेको तिलिचो ताल (४९१९ मि.) तथा अन्नपूर्ण, धौलागिरी र मनास्लु सर्किट ट्रेकले मनोरञ्जन, पर्वतारोहण तथा साहसिक क्षेत्रमा रमाउने विश्वका पर्यटकलाई आकर्षित गरी विदेशी मुद्रा आर्जनको स्रोतको रुपमा विकास गर्न सकिने देखिएको छ । साथै, मुक्तिनाथ, मौलाकालिका, गलेश्वरधाम, ताल बाराही, गोरखा मनकामना, बाग्लुङ कालिकालगायतका धार्मिक पर्यटकीय स्थलको थप प्रचार प्रसारले पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ ।

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर लगायत अन्य सहायक मार्गको विस्तारले ग्रामीण क्षेत्रमा कृषिजन्य तथा औद्योगिक उत्पादनको लागि आन्तरिक तथा बाह्य बजारको विस्तार गर्न सकिने देखिएको छ । कालीगण्डकी करिडोर सडकमार्गबाट चीन र भारतसँग सोझै सम्बन्ध कायम हुने भएकोले पर्यटन तथा व्यापार वृद्धि हुने तथा आर्थिक गतिविधि विस्तारमा उल्लेख्य प्रगति हासिल हुने देखिन्छ । आर्थिक वर्ष २०८२/८३ को शुरुदेखिनै मुस्ताङको कोरोला नाकाबाट आयात शुरु भइसकेको छ । यसले चीनसँग जोड्ने बैकल्पिक स्थलमार्गकोरुपमा सञ्चालन भई आयात निर्यातमा थप सहजिकरण भएको छ । त्यस्तै, पृथ्वीराजमार्ग अन्तरगत मुग्लिङ–पोखरा खण्डको विस्तार कार्यसमेत ९० प्रतिशत सम्पन्न भइसकेको हुँदा आगामी दिनमा स्थलमार्गबाट हुने पर्यटक आगमन र ढुवानीमा सहजीकरण भई व्यापार र पर्यटनको विकासमा थप टेवा पुग्ने
सम्भावना देखिएको छ ।

गण्डकी प्रदेशमा प्राविधिक र आर्थिकरुपले १२,९३० मेगावाट जलविद्युत उत्पादन क्षमता रहेकोमा आ.व. २०८१/८२ को अन्त्यसम्ममा (जडित) जलविद्युत उत्पादन क्षमता १०१६.१९ मेगावाट भएको प्रारम्भिक अनुमान रहेकालेथप जलविद्युत उत्पादन गर्न सक्ने प्रचुर सम्भावना रहेको छ । गण्डकी प्रदेश सरकार, प्रदेश आर्थिक सर्वेक्षण, २०८१ अनुसार उच्च हिमाली तथा पहाडी जिल्लामा सौर्य र वायु ऊर्जा उत्पादनको सम्भावना रहेको छ । ऊर्जालाई प्रदेश समृद्धिको संवाहक बनाउन ठूला जलाशययुक्त जलविद्युत परियोजना, सौर्य र वायु ऊर्जा परियोजना विकास गरी
विद्युत उत्पादन बढाउन सकिने देखिन्छ ।

कृषितर्फ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका सुपरजोन, जोन, ब्लक तथा पकेट क्षेत्र कार्यक्रमको प्रभावकारितामा विस्तार र व्राण्डिङ्ग तथा बजारीकरणको व्यवस्था हुन सकेमा मासु तथा दुग्धजन्य पदार्थ, सुन्तला, तरकारी, स्याउ, कफीजस्ता उच्च मूल्य पर्ने कृषि उत्पादनमा कृषकलाई आकर्षित गर्न सक्ने सम्भावना देखिन्छ । छ। पर्यटनमा अग्र स्थान रहेको यस प्रदेशमा कृषि र सेवा क्षेत्रको आवद्धता  पर्यटन क्षेत्रलाई आवश्यक पर्ने कृषि उत्पादन आपूर्ति, कृषि ऋणमा पहुँच, कृषि बिमा र नयाँ प्रविधिको उपयोगमा प्रोत्साहन र कृषि पर्यटनको विकासमा जोड दिन सकिएमा यस प्रदेशमा आय–आर्जन र रोजगारी सिर्जनामा योगदान पुग्ने देखिन्छ ।

गण्डकी प्रदेशमा खाद्यान्न, तरकारी तथा फलपूmल, पशुपंछी, माछापालन लगायतको कृषि व्यवसायको प्रचुर सम्भावना छ । पछिल्लो समयमा व्यवसायिकरुपमा सुन्तला, कफी, स्याउ तथा मौरीपालनमा कृषकको आकर्षण बढ्दै गइरहेको छ ।

उच्च हिमाली क्षेत्रमा पशुपालन, मध्यपहाडी क्षेत्रमा फलफूल खेती र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को तराई र मध्यभागका टारमा तरकारी तथा अन्नबाली र औद्योगिक गतिविधि विस्तार हुँदै गएको छ । यसको विस्तारमा थप विकास गर्न सकिएमा यस प्रदेशको आर्थिक विकासमा थप योगदान पुग्ने सम्भावना छ । यस प्रदेशमा विदेशबाट फर्किएका युवाको सीप, ज्ञान, पूँजी तथा उन्नत प्रविधि सहित कृषि क्षेत्रमा आकर्षण बढ्दै गएकोले कृषि क्षेत्रमा थप उत्पादकत्व र उत्पादन बढ्ने सम्भावना रहेको देखिन्छ । मध्यपहाडी लोकमार्गको छेउछाउका स्थानमा बजार विस्तार गरी स्थानीय उत्पादनको बजारीकरण गर्न र होटल रेष्टरुेन्ट लगायतका व्यापार व्यवसाय विस्तार गरी उत्पादन प्रोत्साहन गर्न र रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ ।

gandaki province