Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा दुरुपयोगपछि अनिल अम्बानीको ३० अर्बको सम्पत्ति जफत

admin २०८२ कार्तिक १७ गते
सेयर:

बैंकिङ खबर/ भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप अन्तर्गत करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ। ईडीले रिलायन्स ग्रुपका ४० कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेसले जनाएको छ। जफत गरिएका सम्पत्तिमा मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र नोएडा, गाजियाबाद, पुणे, ठाणे, हैदराबाद, चेन्नई, काञ्चीपुरम र आन्ध्र प्रदेशको ईस्ट गोडावरी लगायतका अन्य सम्पत्ति समावेश छन्।

ईडीले सन् २०२२ सेप्टेम्बरमा दर्ता भएका दुई एफआईआरको आधारमा अनुसन्धान अघि बढाएको थियो। एफआईआर रिलायन्स होम फाइनान्स लिमिटेड र रिलायन्स कमर्शियल फाइनान्स लिमिटेडद्वारा ‘एस बैंक’बाट लिइएका ऋणसम्बन्धी थिए। प्रारम्भिक आरोप अनुसार, सन् २०१७–२०१९ बीचमा बैंकबाट प्राप्त करिब तीन हजार करोड रुपैयाँ बराबरको ऋण अवैध रूपमा शेल कम्पनी र समूहका सहायक कम्पनीहरूमा स्थानान्तरण गरी हिनामिना गरिएको थियो।

जफत आदेशमा ईडीले ऋणसम्बन्धी कागजातमा मिति नहाली वा मेटेर लेखिएको, ऋण लिने कम्पनीहरूको वित्तीय अवस्था कमजोर वा निष्क्रिय रहेको, सुरक्षा कागजात अपूर्ण वा दर्ता नभएको र ऋणको प्रयोग स्वीकृत उद्देश्यअनुसार नभएको अनियमितता देखाएको उल्लेख गरिएको छ।

यसअघि भारतीय सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड (एसईबीआई), नेशनल हाउजिङ बैंक, नेशनल फाइनान्सियल रिपोर्टिङ प्राधिकरण र बैंक अफ बडोरा पनि ईडीलाई सम्बन्धित कम्पनीको बारेमा जानकारी दिएका थिए।

यस वर्ष जुलाईमा ईडीले रिलायन्स ग्रुपका ३५ भन्दा बढी कार्यालयमा छापा मारेको थियो र ५० कम्पनी र २५ व्यक्तिको तलासी लिएको थियो। स्टेट बैंक अफ इन्डियाले रिलायन्स कम्युनिकेसन र अनिल अम्बानीलाई ‘धोखाधडी’को सूचीमा राखेपछि सरकारले संसदमा जानकारी गराएको थियो। त्यसपछि ईडीले रिलायन्स ग्रुपका कार्यालयमा छापामारी सुरु गरेको थियो र ५ अगस्ट अनिल अम्बानीलाई दिल्लीस्थित ईडी मुख्यालयमा सोधपुछका लागि बोलाइएको थियो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।