२०८२ कार्तिक १३ गते

३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि लाइसेन्स खुला

बैंकिङ खबर/ सरकारले ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र (लाइसेन्स) खुला गरेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले एक महिनाको अवधि तोकी लाइसेन्स आवेदन खुला गरेको हो।

विभागका अनुसार घरजग्गा कारोबारका लागि चाहिने दस्तुर पनि निर्धारण गरिएको छ। एकपटकमा ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीका लागि ५ लाख र त्यसभन्दा बढी रकमको कारोबार गर्नेलाई १० लाख रुपैयाँ शुल्क तोकिएको विभागले जनाएको छ।

मालपोत ऐनमा भएको व्यवस्थाअनुसार ३ करोड रुपैयाँभन्दा बढीको कारोबार कम्पनीमार्फत मात्र गर्नुपर्ने व्यवस्था सरकारले अघि सारेको हो। सोही ऐनका दफा २६ ‘क’ र २६ ‘ख’ लाई थप स्पष्ट पार्दै घरजग्गा कारोबार सहज र व्यवस्थित बनाइएको विभागको भनाइ छ।

सरकारले तोकिएको अधिकारीका रूपमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलाई जिम्मेवारी दिएको छ। त्यसैगरी, सरकारले राजपत्रमा सूचना प्रकाशित गरी ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न कम्पनी दर्ता गर्नुपर्ने प्रावधान लागू गरेको हो।

३ करोड रुपैयाँभन्दा कम मूल्यका कारोबारका लागि भने कम्पनी दर्ता अनिवार्य छैन। कारोबारको क्षेत्रफल सन्दर्भमा भने कुनै सीमा राखिएको छैन। मालपोत ऐनको दफा २६ ‘क’ अनुसार, सरकारले तोकेको क्षेत्र वा रकम सीमाभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र लिनुपर्ने हुन्छ। घरजग्गा कारोबार भन्नाले प्राकृतिक व्यक्तिबीचको खरिद–बिक्रीबाहेक शुल्क लिएर वा नलिएर घर वा जग्गा खरिद–बिक्रीमा सहयोग, परामर्श वा अन्य व्यावसायिक सेवा प्रदान गर्ने कार्य बुझिन्छ। दफा २६ ‘ख’ अनुसार, लाइसेन्स लिन इच्छुक कम्पनीले तोकिएका विवरण, कागजात र दस्तुरसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ।