२०८२ कार्तिक १२ गते

सेयर बजारमा घटबढः नेप्से ५ अंकले घटेर २५६६ मा बन्द, कारोबार रकम बढ्यो

बैंकिङ खबर/ अघिल्लो दिन ६२ अंकले बढेको सेयर बजार बुधबार भने ५ अंकले घटेर नेप्से २५६६.१६ बिन्दुमा कायम भएको छ। दिउँसो ११ः४६ बजे र १२ः२१ बजे नेप्सेले २६ सय अंक पार गरेको थियो, तर त्यसलाई टिकाउन सकेन।

आज बजार परिसूचक घटे पनि कारोबार रकम बढेको छ। अघिल्लो दिन ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ। कुल ८५ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको घटेको र ६ कम्पनीको स्थिर रहेको छ।

समूहगत रुपमा, होटल तथा पर्यटन समूह २.१५ प्रतिशत, व्यापार समूह २.०० प्रतिशत र हाइड्रोपावर समूह ०.०१ प्रतिशतले बढेको छ। अन्य समूह भने घटेका छन्। बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ र निर्जीवन बीमा ०.१९ प्रतिशतले घटेका छन्।

आज मूल्य वृद्धि गर्ने कम्पनीमा उपकार लघुवित्त र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, मानुषि लघुवित्त ९.९१ प्रतिशत, हिमालयन पावर पार्टनर ८.७४ प्रतिशत र आशा लघुवित्त ७.६८ प्रतिशतले बढेका छन्।

विपरीत, पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ३.६९ र सिनर्जी पावरको मूल्य ३.२१ प्रतिशतले घटेको छ। आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स रहेका छन्।