२०८२ कार्तिक १० गते

किस्ता र ब्याज नउठ्दा बैंकवित्तमा बढ्यो चिन्ता, प्रेसरमा कर्मचारीहरु !

बैंकिङ खबर/अर्थतन्त्र सुस्तदै जाँदा बैंक तथा वित्तीय संस्थाहरूमा किस्ता र ब्याज असुलीमा कठिनाइ बढेको छ। त्यसको सीधा प्रभाव अहिले बैंक कर्मचारीदेखि व्यवस्थापन तहसम्म पुगेको छ। ग्राहकबाट किस्ता नउठ्दा कर्मचारीहरू तीव्र प्रेसर र असुरक्षाको मनोविज्ञानमा बाँधिन थालेका छन्।

कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दी र त्यसपछिका राजनीतिक अस्थिरताले निजी क्षेत्रको लगानी घटाएको छ। उत्पादन र व्यापार सुस्त हुँदा ऋण लिने ग्राहकहरूको आय घटेको छ। अझ

जेनजी आन्दोलनपछि बैंकिङ क्षेत्रले ठूलो दबाब र अनिश्चितताको सामना गरिरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिसक्दा पनि नियमित किस्ता र ब्याज तिर्नुपर्ने ऋणीहरूले तिर्न सकेका छैनन् । यसले बैंकहरूलाई थप तनावमा पुर्‍याएको छ ।

बैंकर्सका अनुसार जेनजी आन्दोलनपछि कर्जा असुलीमा समस्या मात्र होइन्, नयाँ लगानी र परियोजना समेत अगाडि बढ्न सकेको छैन ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार बैंकिङ क्षेत्रमा हालको रिकभरी अवस्था अघिल्ला वर्षको भन्दा पनि कमजोर रहेको छ ।

उनी भन्छन्, ‘पछिल्ला दुई आर्थिक वर्षको पहिलो त्रैमासमा ऋण असुलीमा चुनौती देखिएको थियो। तर, यस वर्ष जेनजी आन्दोलनको प्रभाव, भारी वर्षा र सडक अवरुद्धका कारण स्थिति अझ बिग्रिएको छ । ऋणीहरूले नियमित ब्याज तिर्न नसक्दा बैंकहरूको नाफा घट्ने चिन्ता बढेको छ।’

जेनजी आन्दोलनपछि बैंकिङ क्षेत्रमा प्रभाव

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले निजी क्षेत्रमाथि प्रत्यक्ष आर्थिक र भौतिक क्षति पुर्‍याएको छ । बैंकहरूका अनुसार, १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको स्वीकृत कर्जामध्ये १ खर्ब ४ अर्ब मात्र उपयोग भएको छ र त्यसमा ३७ अर्ब रुपैयाँको नोक्सानी भएको तथ्यांक छ । उद्योग, ब्याकवार्ड र फवार्ड लिङकेज भएका व्यवसायहरूले समेत ठूलो क्षति भोगेका छन् ।

आन्दोलनपछि ऋणीहरूले कर्जा असुलीमा जेनजीको नाममा धम्की दिने, विभिन्न बहाना बनाउने जस्ता चुनौतीपूर्ण व्यवहार देखाएको समेत बैंकरहरु बताउँछन् । कतिपयले जग्गा बिक्री गरेर ऋण तिर्ने वाचा गरेका भए पनि बिक्री हुन नसकेको वा मालपोत कार्यालयमा आगजनी जस्ता कारण देखाउँदै ऋण तिर्न असमर्थ भएको तर्क गरेका छन् । ऋण असुलीमा बैंकहरु कठिन अवस्थामा पुगेका छन् । नियमित ब्याज तिर्नेहरूले समेत समस्या देखाउँदा बैंकिङ क्षेत्रको चुनौती बढेको छ ।

बैंकहरूमा नाफा घट्ने र खराब कर्जा बढ्ने दबाब

असोज मसान्तसम्म धेरै ऋणीले ब्याज तिर्न सकेका छैनन् । जसले बैंकहरूले नाफा घट्ने र खराब कर्जा बढ्ने सम्भावना बढिरहेको छ । तोकिएको समयमा साँवा र ब्याज असुली नहुँदा कर्जा निष्क्रिय हुन पुग्छ र यसले बैंकको वित्तीय विवरणमा प्रत्यक्ष असर पार्छ । यसै कारण बैंकहरूले राष्ट्र बैंकसँग ब्याज तिर्न थप समय मागेका छन् ।

नेपाल बैंकर्स संघले राष्ट्र बैंकसँग कात्तिक १५ सम्म ब्याज भुक्तानी गर्न समय थप गर्न आग्रह गरेको थियो । राष्ट्र बैंकले बैंक र वित्तीय संस्थालाई कर्जा असुली र वित्तीय विवरण प्रकाशनमा सहजीकरण दिएको छ । यसले बैंकहरूलाई केही राहत दिएको भएपनि प्रथम त्रैमासको वित्तीय विवरणमा खराब कर्जा बढ्ने सम्भावना अझै बलियो छ ।

गैर-बैंकिङ्ग सम्पत्ति र धितो स्वीकारको अवस्था

बैंक तथा वित्तीय संस्थाहरूले ऋणीबाट असुली नभएका कर्जालाई सुरक्षा धितो बिक्री वा स्वीकार गर्ने प्रक्रिया अपनाउँछन् । तर, सरकारले जग्गा स्वीकारको सीमा हटाएपछि बैंकहरूले गैर-बैंकिङ सम्पत्ति उल्लेख्य बढाएको तथ्यांक छ ।

चालु आर्थिक वर्षको भदौसम्म वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति ४२ अर्ब ९१ करोड रुपैयाँ, विकास बैंकको ४ अर्ब ७७ करोड र फाइनान्स कम्पनीहरूको ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ। यसले गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा ६१.७३ प्रतिशत वृद्धिलाई जनाउँछ ।

बैंकहरूले कर्जा नउठेपछि नाफाबाट रकम छुट्याएर खराब कर्जा व्यवस्थापन गर्दै आएका छन् । यदि धितो लिलाम बिक्री नभएमा बैंकले आफैँ स्वीकार गर्नुपर्छ । यसरी स्वीकार गरिएको धितो गैर-बैंकिङ्ग सम्पत्तिमा रूपान्तरण हुन्छ ।

कर्मचारीहरूमा दबाब

बैंकका कर्मचारीहरू हाल ‘टार्गेट प्रेसर’मा छन्। कर्जाको किस्ता असुल गर्न नसक्दा मुख्यालयबाट दैनिक रिपोर्ट माग्ने प्रथा बढेको छ। एक बैंकका कर्मचारी भन्छन्,‘ग्राहकसँग साक्षात्कार गरेर असुली गर्न जान्छां, तर बजारमा नगद चलायमान छैन। यस्तोमा बैंकले पनि महसुस गर्नु पर्छ। तर, टार्गेट पुरा नगरेपछि कर्मचारी नै दोषी ठहरिन्छ।’ किस्ता असुलीको लक्ष्य नपुग्दा इन्सेन्टिभ कटौती, ट्रान्सफरको डर, र कामको असुरक्षा जस्ता समस्या बढेका छन्।

नेपाल राष्ट्र बैंकले दिएको सहुलियतका कारण वित्तीय विवरणमा तत्काल खराब कर्जा धेरै देखिएन, तर असली स्थिति असोज मसान्तपछि देखिन थालेको छ । बैंकहरूले धितो लिलाम गर्ने वा गैरबैंकिङ सम्पत्ति स्वीकार गर्ने कुनै आर्थिक गतिविधि देखाएको छैन ।

ऋणीहरूको अवस्था र निजी क्षेत्रको प्रतिक्रिया

व्यवसायीहरू पनि अहिले ब्याज तिर्न असमर्थ छन्। बैंकहरूले ऋण असुलीमा दबाब बढाउँदा ऋणी रिसाउने अवस्था देखिएको छ ।

बैंकहरूमा कर्मचारीहरूले फोन गर्दा उल्टै गाली सुन्ने स्थिति रहेको छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाले ऋण असुलीमा तत्काल कदम चाल्न कठिनाइ महसुस गरिरहेको छ ।

नेपालमा आर्थिक गतिविधि उच्च हुने दशैं-तिहार र छठ जस्ता चाडपर्वको समयमा जेनजी आन्दोलनले ठूलो क्षति पुर्‍याएको छ । वर्षायामको भारी वर्षा र सडक अवरुद्धको कारण व्यवसाय क्षेत्र थप प्रभावित भएको छ । 

विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ । यसअघि आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको थियो। अब भने आर्थिक २०८२/८३ मा यस्तो वृद्धिदर २.१ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा ४.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

निजी क्षेत्रले राज्यको सुरक्षा पर्याप्त नभएको महसुस गर्दा नयाँ लगानी गर्न सकिरहेको छैन । यसले बैंकहरूको ऋण विस्तार र लगानीमा प्राथमिकता कम गरेको छ । बैंकहरूले सुरक्षित सानो लगानी पनि गर्न हिचकिचाइरहेका छन् ।

असोज मसान्तसम्म धेरै ऋणीले ब्याज र किस्ता तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्न राष्ट्र बैंकसँग समय थप्न सफल भएका छन्।

राष्ट्र बैंकले कात्तिक १५ सम्म उठेको ब्याज पहिलो त्रैमासको वित्तीय विवरणमा समावेश गर्न अनुमति दिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थामा करिब ११ खर्ब ५० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम जम्मा भएको छ।

यसले बैंकहरूमा निक्षेप बढिरहेको र ऋण माग कम भएको पुष्टि गर्दछ। बैंकहरूले नयाँ आर्थिक वर्षमा ऋण प्रवाह बढाउने अपेक्षा राखे पनि जेनजी आन्दोलनपछि स्थायित्व कायम छैन।

खराब कर्जा र बैंकिङ क्षेत्रको चुनौती

चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाको औसत खराब कर्जा ४.६२ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिसँग तुलना गर्दा बढी हो। वाणिज्य बैंकको औसत ४.४४, विकास बैंक ५.०३ र फाइनान्स कम्पनी ११.०५ प्रतिशत रहेको छ।

खराब कर्जा बढ्दा बैंकहरूले नाफा घटाउने, नोक्सानी व्यवस्थापन बढाउने र भविष्यमा लगानीमा जोखिम बढ्ने चुनौतीको सामना गर्नुपर्छ। यसै कारण बैंकहरू अहिले ऋण विस्तारमा पनि सतर्क छन्।

जेनजी आन्दोलन, भारी वर्षा, सडक अवरुद्ध, र राजनीतिक अस्थिरताले बैंकिङ क्षेत्रमा गहिरो प्रभाव पारेको छ। ऋणीले ब्याज तिर्न नसक्दा बैंकहरूलाई वित्तीय दबाब, खराब कर्जा वृद्धि, नाफा घट्ने चुनौतीहरू बढेका छन्। बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकसँग सहजीकरण मागेर समय थप पाए पनि पहिलो त्रैमासको वित्तीय विवरणमा खराब कर्जा देखिने निश्चित छ।

बैंकहरूले बैंकिङ क्षेत्रमा रिकभरीको अवस्था सबैभन्दा चुनौतीपूर्ण भएको बताएका छन्। ऋणीहरू पनि आर्थिक अनिश्चितता र सुरक्षा नहुँदा ब्याज तिर्न नसक्ने अवस्था देखिएका छन्।

बैंक तथा वित्तीय संस्थाहरू ऋण असुली, लगानी प्रवाह, कर्मचारी दबाब, र वित्तीय स्थायित्व कायम राख्ने दिशामा केन्द्रित छन्।