२०८२ कार्तिक १३ गते

राष्ट्र बैंकको नयाँ व्यवस्थाः ६ महिनासम्म निक्षेप सुविधा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिँदै गएको अधिक तरलतालाई व्यवस्थापन गर्न नयाँ मौद्रिक व्यवस्था लागू गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग रहेको अतिरिक्त तरलता ६ महिनासम्मका लागि केन्द्रीय बैंकमा निक्षेप राख्न पाउने भएका छन्।

राष्ट्र बैंकले बुधबार १ सय ७५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलनको प्रस्ताव आह्वान गरेको थियो । यसअघि कात्तिक ९ गते मात्र राष्ट्र बैंकले ९० अर्ब रुपैयाँको ४२ दिने निक्षेप संकलनका लागि आह्वान गरेको थियो।

विगतमा केन्द्रीय बैंकले अधिकतम ६४ दिनसम्मका निक्षेप संकलन गर्दै आएकोमा यो पहिलो पटक ६ महिनासम्मको अवधिका लागि निक्षेप लिन लागेको हो। सामान्यतया ४, ७, १०, ११, १२ र २१ दिनका लागि निक्षेप संकलन गर्दै आइँदै आएको थियो।

राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्माका अनुसार खुला बजार व्यवस्थापन समितिले गरेको अध्ययन र प्रक्षेपणका आधारमा निक्षेप संकलनको समयावधि बढाइएको हो।

उनका अनुसार अबको केही समय बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहिरहने प्रक्षेपणका आधारमा यो व्यवस्था गरिएको हो । अहिलेलाई ४० अर्ब रुपैयाँ मात्रै छ महिनासम्म राख्न मिल्ने व्यवस्था गरिएको छ, तर आवश्यकता परे फेरि पनि लामो अवधिका लागि निक्षेप लिन सकिनेछ ।

राष्ट्र बैंकले लामो अवधिको निक्षेप संकलन गर्दा ब्याजदर कोरिडोरलाई सीमा भन्दा माथि जानबाट रोक्न सहज हुने देखिएको छ। राष्ट्र बैंकका तथ्यांक अनुसार, हाल ७ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम बैंकिङ प्रणालीमै थुप्रिएको छ।