२०८२ कार्तिक ९ गते

ह्यात रिजेन्सी होटल बन्द भएपनि सेयर कारोबार भने सुचारु

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत तारागाउँ रिजेन्सी होटल लिमिटेड (ह्यात रिजेन्सी होटल) ले शुक्रबारदेखि अनिश्चितकालका लागि होटल बन्द गर्ने निर्णय गरेको छ।

होटलले जारी गरेको सूचनामा भनिएको छ ‘जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति पुगेको कारणले पूर्णरूपमा सेवा सञ्चालन गर्न नसकिने भएकाले अनिश्चितकालीन रूपमा होटल बन्द गरिएको हो।’ होटल बन्द भएपछि यसको सेयर कारोबारमा पर्ने असरबारे लगानीकर्ताबीच चासो बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीका अनुसार, होटलले सूचना सार्वजनिक गरे पनि हालसम्म सेयर कारोबार भने सुचारु नै रहेको छ।

‘हामीलाई कारोबार रोक्न धितोपत्र बोर्ड (सेबोन) बाट निर्देशन नआएसम्म नेप्सेले कारोबार स्थगन गर्न सक्दैन,’ पराजुलीले भने । उनका अनुसार, कम्पनीहरूले विशेष कारण देखाएर बन्द हुँदा नियामक निकायलाई कारोबार रोक्का गर्न औपचारिक निवेदन दिनुपर्ने प्रचलन छ।

‘कम्पनीले बन्दको निर्णयसँगै सेबोनमा निवेदन दिन्छ, त्यसपछि बोर्डले बजार सञ्चालक नेप्सेलाई कारोबार रोक्न निर्देशन दिन्छ,’ पराजुलीले स्पष्ट पारे।

तर, हालसम्म सेबोनबाट कुनै निर्देशन नआएकाले तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार रोकिएको छैन। हाल धितोपत्र बोर्ड विगत ३४ दिनदेखि आफैं बन्द रहेको छ। यसकारण पनि नेप्सेले बोर्डको निर्देशन पाउन ढिलाइ भएको बताइएको छ।

तारागाउँ रिजेन्सी होटलका कुल १ करोड ९६ लाख २१ हजार २०२ कित्ता सेयर मध्ये ६९.१५ प्रतिशत (१ करोड ३५ लाख ६८ हजार ६१ कित्ता) सेयरमा सर्वसाधारण लगानीकर्ता छन्। बाँकी ३०.८५ प्रतिशत (६० लाख ५३ हजार १ सय ४१ कित्ता) सेयर संस्थापक समूहको स्वामित्वमा छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५१ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड रुपैयाँ, नेटवर्थ १६१ रुपैयाँ ६५ पैसा, र प्रति सेयर आम्दानी २६ रुपैयाँ २७ पैसा रहेको छ।

यद्यपि, कम्पनीले आर्थिक वर्ष २०८०/८१ यता लगानीकर्तालाई लाभांश वितरण गरेको छैन। होटल अनिश्चितकालीन रूपमा बन्द भएपछि लगानीकर्ता तथा बजार विश्लेषकहरूले यस घटनाले पर्यटन र होटल सेयर उपसमूहमा नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको बताएका छन्।