२०८२ कार्तिक ७ गते

बैंकिङ क्षेत्रको सुस्त गतिले सेयर बजारमा प्रत्यक्ष असर, निराशामा लगानीकर्ताः डा.गोपाल भट्ट

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा.गोपाल भट्टले पछिल्लो समय देशभित्र रेमिट्यान्स भित्रिएपनि अर्थतन्त्र भने चलायमान हुन नसकेको बताएका छन् । मिडिया इन्टरनेशनल नेपालले आयोजना गरेको‘वर्तमान अवस्था र आर्थिक एवं वित्तीय चुनौतीहरू’विषयक अन्तरक्रियामा उनले भने,‘पैसा देशभित्र आएको हो, तर त्यसले अर्थतन्त्रमा अपेक्षित उर्जाको सृजना गर्न सकेको छैन । अब निराशाका पाटाहरू सुरु हुँदैछन् ।’

डा. भट्टका अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपालमा रेमिट्यान्स १८ प्रतिशतले वृद्धि भएको छ, जसले देशको चालु खाता बचतमा सुधार र मुद्रा स्फीति नियन्त्रण गर्न मद्दत पुर्‍याएको छ । उनले भने, ‘रेमिट्यान्सले त तत्कालीन तरलता बढाउँछ, तर उत्पादनमूलक क्षेत्रमा त्यसको उपयोग नभए त्यसले दीर्घकालीन फाइदा दिन सक्दैन ।’

रेमिट्यान्सले आयातमा सहजता ल्याएपनि, घरेलु उद्योग र रोजगारी सिर्जनामा खास सुधार नदेखिएको उनले बताए । ‘विदेशबाट आएको पैसा उपभोगमा खर्च भएको छ, लगानी र उत्पादनमा होइन,’ उनले टिप्पणी गरे । डा.भट्टले नेपाल सरकारले विकास खर्चमा अत्यन्तै कमजोर प्रदर्शन गरे । उनले भने, ‘हाल सरकारी खर्चको ठूलो हिस्सा चालु खर्चमा सीमित छ । तलब, भत्ता, प्रशासनिक खर्च र नियमित सेवा प्रवाहमा मात्रै। विकास बजेट खर्च गर्न नसक्दा अर्थतन्त्रमा ‘मल्टिप्लायर इफेक्ट’ देखिएको छैन ।’

सरकारले पूँजीगत परियोजनामा समयमै निर्णय गर्न नसक्ने, टेन्डर प्रक्रिया ढिलो हुने, र राजनीतिक अस्थिरताले पनि खर्च रोकिएको अवस्था रहेको उनले बताए । ‘अब सरकारले खर्च गर्न सकेन भने, बजारमा निराशा फैलिने छ र लगानीकर्ताको विश्वास घट्नेछ,’ भट्टले भने ।

बैंकहरूको लगानी ठप्प

नेपालका वाणिज्य बैंकहरूमा अहिले तरलता प्रशस्त भए पनि लगानी विस्तार गर्न नसकेको डा. भट्टले बताए । बैंकहरूको ब्याजदर घटे पनि लगानीयोग्य परियोजनाको कमी, राजनीतिक अनिश्चितता र कानुनी जोखिमका कारण कर्जा प्रवाह घटिरहेको छ ।

उनले भने‘असुल नहुने कर्जा(एनपिएल) ५ प्रतिशतभन्दा माथि पुगेको छ । जुन अघिल्ला वर्षहरूमा करिब १ प्रतिशतको हाराहारीमा सीमित थियो । यो सूचकले देखाउँछ कि ऋणीहरू तिर्न सक्ने अवस्थामा छैनन् । जब कारोबार सुस्त हुन्छ, बिक्री घट्छ, अनि ऋण फिर्ता गर्न कठिन हुन्छ,’ उनले भने ।

थोक व्यापार र सिमित घरानामा अड्किएको पूँजी

डा.भट्टका अनुसार बैंकहरूले विगतमा लगानी गरेको ठूलो रकम थोक व्यापार, होलसेल र आयात–केन्द्रित व्यवसायमा गइसकेको छ । तर, ती क्षेत्रहरूमा कारोबार घट्दा त्यो पैसा बैंकमा फर्किन सकेको छैन ।

‘नयाँ लगानी नहुँदा बैंकभित्रको पूँजी निष्क्रिय बनेको छ । यसले बैंकिङ प्रणालीमै दबाब बढाएको छ,’ उनले भने । उनले थपे, ‘नेपालको बैंकिङ प्रणाली उत्पादनमुखी होइन। अझै पनि सीमित घरानामा पूँजी केन्द्रित छ, जसले आर्थिक असमानता पनि बढाउँदै गएको छ ।’

सेयर बजारमा प्रत्यक्ष असर

बैंकिङ क्षेत्रको सुस्त गतिले नेपाली सेयर बजारमा पनि प्रत्यक्ष प्रभाव पारेको डा.भट्टको भनाइ छ । ‘नेपालको पूँजी बजार सुरुमा बैंकिङ प्रणालीकै विस्तारबाट बनेको हो । जब बैंकको नाफा घट्छ, लगानीकर्ताको आत्मविश्वास पनि घट्छ । अहिले त्यही परिस्थिति दोहोरिँदैछ,’ उनले भने ।

उनका अनुसार, बजारमा नीतिगत अनिश्चितता, लगानीकर्ताको मनोवैज्ञानिक डर र तरलता संकटका कारण स्टक एक्सचेन्जमा कारोबार मात्रा घट्दै गएको छ ।
गैरवित्तीय क्षेत्रको बढ्दो प्रभाव

डा.भट्टका अनुसार, पछिल्ला वर्षहरूमा हाइड्रोपावर, ऊर्जा, निर्माण, र गैरवित्तीय क्षेत्रहरूमा लगानी बढ्दै गएको छ । ‘यो सकारात्मक संकेत हो,’ उनले भने, ‘तर बैंकिङ क्षेत्र कमजोर हुँदा पूँजी बजार र गैरवित्तीय क्षेत्र पनि टिकाउ रूपमा अगाडि बढ्न सक्दैन ।’
उनका अनुसार, बैंकिङ प्रणालीले नै पूँजी बजार र अन्य क्षेत्रहरूलाई बल दिन्छ । ‘यदि बैंकहरूले जोखिम लिँदैनन् भने, समग्र अर्थतन्त्रको गतिको इन्जिन नै बन्द हुन्छ,’ उनले थपे ।

डा.भट्टले नेपालमा लगानीकर्ताले अझै पनि बैंकिङ क्षेत्रप्रति भरोसा राखे पनि त्यसको प्रदर्शन कमजोर बन्दै गएको बताए । उनले भने,‘जब लगानीकर्ताले सरकार र नियामक निकायमा विश्वास गुमाउँछन्, तब पूँजी बजारमा सुधार आउन गाह्रो हुन्छ’ उनले भने, ‘विश्वास गुमेपछि बजार पुनर्जीवित गर्न वर्षौं लाग्छ ।’

सहकारी र लघुवित्त प्रणालीमा भ्रम फैलाइयो

डा.भट्टले विगतमा ‘सहकारी र लघुवित्त उस्तै हो’ भन्ने धारणा फैलाइएको विषयमा आलोचना गरे । ‘यो धारणा गलत थियो,’ उनले भने,‘सहकारीहरू सदस्य–आधारित सामाजिक संस्था हुन् भने लघुवित्त व्यवसायिक मोडेल हो । दुवैलाई एउटै रूपमा हेरिँदा नियमन कमजोर भयो, जसको नतिजा अहिलेको सहकारी संकट हो ।’ यो भ्रमले धेरै साना लगानीकर्तालाई नोक्सान पु¥याएको छ र वित्तीय प्रणालीप्रतिको जनविश्वास घटाएको छ ।

अर्थतन्त्रमा निराशाको चरण सुरु

डा.भट्टले अब अर्थतन्त्रमा निराशाका पाटाहरू सुरु हुन थालेको बताए । अर्थतन्त्रमा पैसा त छ, तर त्यो पैसा घुम्ने र उत्पादनमा जाने मेकानिज्म कमजोर भएको छ । उनले भने, ‘बैंकहरू कर्जा दिन डराउँछन्, उद्यमी लगानी गर्न डराउँछन्, र सरकार खर्च गर्न असमर्थ छ । यो त्रिकोणीय निष्क्रियता अर्थतन्त्रका लागि घातक हो ।’ अब नीति र व्यवहारबीचको स्पष्टता, लगानी प्रोत्साहनका कार्यक्रम, र सरकारी खर्चमा गतिशीलता आवश्यक रहेको उनले बताए । ‘यदि सरकारले अब पनि ढिलाइ गर्‍यो भने, आर्थिक सुस्तता ‘मन्दी’मा परिणत हुन सक्छ,’ उनले भने ।