२०८२ कार्तिक ५ गते

घरजग्गा कारोबारमा सुधार: असोजमा दुई अर्ब ७५ करोड राजस्व संकलन

बैंकिङ खबर/ केही समयदेखि सुस्त रहेको घरजग्गा कारोबारमा असोज महिनादेखि सुधारको संकेत देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत असोज महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा आगलागी र क्षति पुगेको थियो। चाडपर्व र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भए पनि असोज महिनामा कारोबारमा उल्लेख्य सुधार भएको विभागले जनाएको छ।

विभागका अनुसार असोजमा सेवा कर शीर्षकमा २१ करोड ३० लाख ७५ हजार २६० रुपैयाँ, रजिष्ट्रेशन शुल्क शीर्षकमा एक अर्ब ४४ करोड १६ लाख ८७ हजार ७५५ रुपैयाँ र पुँजीगत लाभकर शीर्षकमा एक अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ रुपैयाँ संकलन भएको छ।

सबैभन्दा बढी राजस्व संकलन गर्ने मालपोत कार्यालयमा चाबहिल, काठमाडौं अगाडि छ, जसले २७ करोड ४२ लाख ९६ हजार २१० रुपैयाँ संकलन गरेको छ।

आगलागी र तोडफोडको असरमा परेका कलंकी मालपोत कार्यालयले पनि ४१ लाख ५० हजार ३७१ रुपैयाँ बराबरको राजस्व संकलन गरेको विभागले जनाएको छ।

त्यसैगरी, बुटवल मालपोत कार्यालयले पाँच करोड तीन लाख ५६ हजार ६३९ रुपैयाँ, दमक (झापा) मालपोत कार्यालयले दुई करोड ८६ लाख ४१ हजार ३९० रुपैयाँ, र मनमैजु (काठमाडौं) मालपोत कार्यालयले चार करोड ७७ लाख २३ हजार ३६१ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन्।

गत असोज महिनामा २३ हजार ३५३ वटा लिखत पारित, २ हजार ४४२ नामसारी, २३ हजार ९१४ रोक्का, र १७ हजार ९३० फुकुवा भएका छन्। विभागका अनुसार सो अवधिमा देशभर ७९ हजार ७३९ वटा घरजग्गासम्बन्धी कारोबार भएका छन्, जसले सम्पत्ति बजार क्रमशः सामान्य अवस्थातर्फ फर्कँदै गएको संकेत गरेको छ।