२०८२ आश्विन ३० गते

धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो

बैंकिङ खबर/ नेपालमा धितोपत्र बजारको पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तमा बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब कायम भएको हो। २०८१ भदौमा यो ४१ खर्ब ०३ अर्ब ६२ करोड रुपैयाँ थियो। कुल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको हिस्सा गत भदौमा ७३.१५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ७१.८८ प्रतिशतभन्दा बढी हो।

नेप्से सूचकाङ्क पनि बढेको छ। २०८१ भदौमा नेप्से २५८०.७६ रहेकोमा गत भदौमा २६७२.२५ कायम भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७६ पुगेको छ। यसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनीहरू रहेका छन्। अघिल्लो वर्षको भदौमा सूचीकृत कम्पनीको संख्या २ सय ६७ थियो।

धितोपत्र बजारमा क्षेत्रीय हिस्सा हेर्दा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सेदारी ५२.९ प्रतिशत, जलविद्युत् १४.९ प्रतिशत, लगानी कम्पनी ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योग ५.६ प्रतिशत, व्यापारिक संस्था ४.९ प्रतिशत, होटल २.७ प्रतिशत र अन्य समूह ११.३ प्रतिशत रहेको छ।

नेप्सेमा कुल ८ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ८ सय ७७ अर्ब ९७ करोड पुगेको छ। आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा १२ अर्ब ७८ करोडको साधारण सेयर, १ अर्ब ८३ करोडको बोनस सेयर, १ अर्ब ४६ करोडको हकप्रद सेयर र ९२ करोड ५० लाखको एफपीओ गरी कुल १७ अर्ब बराबरको धितोपत्र सूचीकृत भएको छ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोडको म्युचुअल फन्ड, ३ अर्ब ७८ करोडको हकप्रद सेयर र ९९ करोड ४७ लाखको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।