२०८२ आश्विन १२ गते

अब सेयर बजार एक साता नखुल्ने : अन्तिम कारोबार दोहोरो अंकको वृद्धि

बैंकिङ खबर/ सेयर बजार दसैं बिदाका कारण एक सातासम्म बन्द हुने भएको छ। यस अवधिमा कारोबार नहुने र आगामी आइतबारदेखि मात्र बजार खुला हुने नेप्सेले जनाएको छ।

दसैंअघि भएको अन्तिम कारोबारमा बजार ११.५१ अंकले बढ्दै २६६३.५१ विन्दुमा पुगेको छ। आजको दिनमा २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

समूहगत सूचकमा १० वटा समूह बढ्दा तीन वटा घटेका छन्। सबैभन्दा धेरै गिरावट ट्रेडिङ समूहमा १.२८ प्रतिशतले देखिएको छ। होटल र अन्य समूहमा सामान्य गिरावट भए पनि बाँकी समूहमा एक प्रतिशतभन्दा कम मात्र वृद्धि भएको छ।

आज ग्लोबल आईएमई समुन्नत योजना–२ म्युचुअल फण्डको मूल्य १० प्रतिशतले बढेको छ भने सिक्लेस हाइड्रोको शेयर सोही बराबर घट्दै नकारात्मक सर्किटमा गएको छ।

बजारमा युनियन हाइड्रोपावरको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार ११ करोड रुपैयाँमा सीमित भएको छ।