बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आइतबार ५७ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १३४ वटा कम्पनीको १० लाख आठ हजार चार सय छ कित्ता सेयर चार हजार तीन सय २३ पटक खरिदविक्री हुँदा कुल ५७ करोड ३३ लाख ५० हजार दुई सय रुपैयाँ पुँजी परिचालन भएको हो ।
कुल कारोबारमध्ये नेपाल दुरसञ्चार कम्पनीको नौ करोड ४२ लाख चार हजार छ सय १० रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंकको पनि दुई करोड ८० लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सवा दुई करोडको कारोबार हुँदा बैंक अफ काठमाण्डू लुम्बिनीको एक करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । देवः विकास बैंक, सिद्धार्थ बैंक, युनिलिभर नेपाल, नेपाल बंगलादेश बैंक, कुमारी बैंक लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।
मञ्जुश्री फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ८.९३ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा हाम्रो विकास बैंकका सेयरधनीले ७.८८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । प्रिमियर इन्स्योरेन्स, देवः विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.६९, ६.४२ र ६.१६ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावर, एभरेष्ट बैंक, बरुण हाइड्रोपावर, रुरल माइक्रोफाइनान्स, छिमेक लघुवित्त विकास बैंक लगायतका सेयरधनीले पनि पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
जम्मा २८ वटा कम्पनीका सेयरधनीले अधिकतम ४.७४ देखि न्युनतम ०.०७ प्रतिशतसम्मले आफ्नो सम्पत्ति घटाएका छन् । गुडविल फाइनान्सका सेयरधनीले सबैभन्दा बढण्ी गुमाएका छन् भने नेरुडे लघुवित्तका सेयरधनीले सबैभन्दा कम गुमाएका छन् । बोटलर्स नेपाल, अपि पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ३ प्रतिशतभन्दा बढीले गुमाउँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, एभरेष्ट इन्स्योरेन्स र रिडी हाइड्रोपावरका सेयरधनीले २ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् भने युनिलिभर नेपाल नेपाल लाइफ इन्स्योरेन्स, ललितपूर फाइनान्स, विजय लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, आईसीएफसी र नागरिक लगानी कोषका सेयरधनीले एक प्रतिशतभन्दा बढी गुमाएका छन् । एक प्रतिशतभन्दा कम गुमाउनेमा ग्लोबल आईएमई समुन्नत स्किम १, युनाइटेड इन्स्योरेन्स, नेशनल हाइड्रो, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, ग्लोबल आईएमई बैंक, जानकी फाइनान्स, निर्धन उत्थान बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र नेरुडे लघुवित्त छन् ।