Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निवृत्तभरण व्यवस्थापनको नयाँ कार्यविधिः यस्ता छन् केही महत्वपूर्ण व्यवस्था

२०८२ असार ३२ गते

बैंकिङ खबर/ अर्थ मन्त्रालयअन्तर्गत निवृत्तभरण व्यवस्थापन कार्यालयले ‘निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि, २०८२’ सार्वजनिक गरेको छ। कार्यविधिमा निवृत्तभरण प्रणालीलाई प्रभावकारी, पारदर्शी र सहजरूपमा कार्यान्वयन गर्ने उद्देश्यले केही महत्वपूर्ण नयाँ व्यवस्था गरिएको छ।

अबदेखि किताबखानाबाट जारी अधिकार पत्र अनुसार निवृत्तभरकले आफूले चाहेको बैंकमा शून्य ब्यालेन्समा खाता खोलेर भुक्तानी लिन सक्नेछन्। निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित बैंकलाई जानकारी दिएपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्नेछ।

परिचयपत्र वा वडाको सिफारिस आवश्यक

खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर र अन्य कागजात देखाउनु पर्नेछ। तर, बालबालिका, अशक्त, असहाय तथा ९० वर्षभन्दा माथिका जेष्ठ नागरिकका लागि वडा कार्यालयको सिफारिस पर्याप्त हुनेछ।

पारिवारिक निवृत्तभरकका लागि अलग व्यवस्था

पारिवारिक निवृत्तभरकको हकमा नयाँ खाता खोल्दा साविकको निवृत्तभरकको खाता बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्ता खाताबाट केवल रकम झिक्न सकिने र अन्य कारोबार गर्न नपाइने उल्लेख छ।

खाता सक्रियता र नवीकरण

निवृत्तभरकको खाता १ वर्षसम्म सक्रिय हुनेछ। पारिवारिक निवृत्तभरकको खाता ६ महिनासम्म सक्रिय रहनेछ।

त्यसपछि, खाता पुन: सञ्चालन गर्न निवृत्तभरक स्वयं उपस्थित हुनुपर्नेछ। बाँकी समयमा भर्चुअल माध्यमबाट संचालन गर्न सकिनेछ।

विदेशमा रहेका निवृत्तभरकको लागि

विदेशमा रहेका निवृत्तभरकले आफ्नो खाता नवीकरणको सिफारिस सम्बन्धित नेपाली नियोगमा निवेदन दिई गर्नुपर्नेछ।

बैंकलाई प्रणाली पहुँचको व्यवस्था

निवृत्तभरण भुक्तानी खातामा हरेक महिनाको तेस्रो हप्तासम्म रकम जम्मा गरिनुपर्नेछ। साथै, निवृत्तभरण व्यवस्थापन कार्यालयले माग गरेमा बैंकले स्टेटमेन्ट हेर्न सक्ने प्रणाली पहुँच दिनुपर्ने व्यवस्था पनि कार्यविधिमा समावेश छ।