
बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले सर्वसाधारणका लागि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सर्वसाधारण समूहमार्फत कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था अनुसार बैंकले एफपीओ ल्याएको हो।
बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सार्वजनिक निष्कासन गर्दैछ। हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा २७ प्रतिशत मात्र रहेको छ। एफपीओ प्रतिकित्ता १५७ रुपैयाँमा जारी गरिएको छ, जसमा १ सय रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपिएको छ।
एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले अनलाइन प्रणाली ‘मेरो सेयर’ वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बिक्री प्रवन्धकको जिम्मा सिटिजन्स क्यापिटललाई दिइएको छ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले एफपीओलाई ‘केयर एनपी बीबीबी (केयर एनपी ट्रिपल बी)’ रेटिङ प्रदान गरेको छ, जसले समयमै दायित्व पूरा गर्ने क्षमतालाई मध्यम स्तरको संकेत गर्छ।
मंगलबारको अन्तिम कारोबारमा हिमालयन बैंकको सेयर मूल्य २३४ रुपैयाँमा कायम थियो। बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ। आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा रहेको छ। यद्यपि बैंक ७ अर्ब ३६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ।



