Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आधा दर्जन विकास बैंक र फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

२०८२ असार ३१ गते

बैंकिङ खबर/नियामकीय निर्देशन पालना नगर्ने ३ विकास बैंक र ३ फाइनान्स कम्पनीमाथि नेपाल राष्ट्र बैंकले कारबाही अघि बढाएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा देखिएका विभिन्न अनियमितता तथा कमजोरीका कारण ती संस्था कारबाहीमा परेका हुन्।

राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, पोखरा फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्स नियामकीय लापरवाहीका कारण कारबाहीमा परेका हुन्।

गोर्खाज फाइनान्सले प्रमुख कार्यकारी अधिकृत पद तीन महिनासम्म रिक्त राखेको र आपसी समझदारीको अभावले संस्थाको सञ्चालनमै अवरोध पुगेको राष्ट्र बैंकले औंल्याएको छ। कार्यविधि अनुसार सिइओ नियुक्त नगरेको भन्दै सञ्चालक समिति सदस्यहरूलाई सचेत गराइएको छ।
जानकी फाइनान्स न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्दा शीघ्र सुधारात्मक कारबाहीमा परेको छ। पोखरा फाइनान्सले अनिवार्य मौज्दात नबुझाएबापत ४६ हजार ७१८ रुपैयाँ जरिवाना तिर्नु परेको छ। साथै, सुधारका निर्देशन पालना नगरेकाले सिइओ रविचन्द्र गुरुङमाथि ५ लाख रुपैयाँ जरिवाना गरिएको हो।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी कायम नगरेको र पटक–पटक निर्देशन दिए पनि कार्यान्वयन नगरेको भन्दै साल्पा विकास बैंकका सञ्चालकहरूलाई नसिहत दिएको छ।

मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल भवन निर्माण समितिको संयोजक बनेको पाइएपछि, राष्ट्र बैंकले एकीकृत निर्देशन उल्लंघन भएको भन्दै उनलाई सचेत गराएको छ।

नारायणी डेभलपमेन्ट बैंकले एकल ग्राहक कर्जा सीमा पालना नगरेको, चुक्ता पूँजी अपुग रहेको, तथा सर्वसाधारणबाट तोकिएको सीमाभन्दा बढी निक्षेप संकलन गरेको भन्दै लिखित निर्देशन जारी गरिएको छ।