
बैंकिङ खबर/ नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रहलाद दाहालले नेपालमा दुग्ध व्यवसाय संकटतर्फ उन्मुख भएको चेतावनी दिएका छन्। उनले दुग्ध उद्यमी र किसानहरू अनेक समस्या झेल्न बाध्य भएको भन्दै राज्यको उदासीनताले स्थिति झनै गम्भीर बनाएको बताए।
विजिनेस स्टुडियोलाई दिएको अन्तर्वार्तामा अध्यक्ष दाहालले दुग्ध क्षेत्रमा उत्पादनदेखि बजार व्यवस्थासम्मका समस्याहरूलाई उजागर गरे। ‘किसानले लागतअनुसार मूल्य नपाउँदा, बिचौलियाको बिगबिगी बढ्दा र प्रशोधन तथा भण्डारणको उचित व्यवस्था नहुँदा यो क्षेत्र गम्भीर संकटमा परेको छ,’ उनले भने।
किसान पेसाबाटै विस्थापित
दाहालका अनुसार स्वच्छ दूध उत्पादनमा प्रोत्साहनको अभाव, गुणस्तर नियन्त्रणमा चुनौती र बजारको अस्थिरताले किसानहरू पेसाबाटै विस्थापित हुँदै गएका छन्। ‘दुग्ध नीतिको प्रभावकारी कार्यान्वयन गर्न सरकार असफल छ। आवश्यक लगानीको वातावरण बनाउन नसक्दा क्षेत्र थप जोखिममा परेको छ,’ उनले दाबी गरे।
आयातमुखी अर्थतन्त्र र करको बोझ
अध्यक्ष दाहालले समग्र अर्थतन्त्रबारे बोल्दै नेपालको आर्थिक प्रणाली अझै पनि आयातमुखी रहेको बताए। उनले उत्पादनशील क्षेत्रमा लगानी कम भएको, अत्यधिक कर र कर्मचारीतन्त्रिक झन्झटले नयाँ उद्यमीहरूलाई निरुत्साहित गरिरहेको उल्लेख गरे। ‘व्यवसाय सञ्चालनको लागि आवश्यक सहज वातावरण छैन। अहिलेको कर संरचना र नियामक झन्झट उद्यमीका लागि बाधक बनेका छन्,’ दाहालले बताए।
अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न सुझाव
दाहालले बंगलादेश र श्रीलंका जस्ता देशहरूलाई उदाहरण दिँदै नेपालले उनीहरूको कृषि र साना/मझौला उद्यममा देखाएको तत्परताबाट सिक्न सक्ने बताए। ‘हामीले पनि कृषि र घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने दीर्घकालीन योजना बनाउनुपर्छ,’ दाहालको सुझाव थियो।
युवा बेरोजगारीले देशको भविष्य अप्ठ्यारो
अन्तर्वार्तामा उनले शिक्षित युवाहरूको बेरोजगारी, अवसरको अभाव, र विदेश पलायनको बढ्दो प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। ‘देशको भविष्यमाथि गम्भीर प्रश्न उठ्न थालेको छ,’ अध्यक्ष दाहालले भने।
हेर्नुहोस् भिडियो




