२०८२ असार २६ गते

घाटामा गएका कम्पनीलाई आईपीओ ल्याएर लगानीकर्ता फसाइँदैछ : डा. स्वर्णिम वाग्ले

बैंकिङ खबर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले घाटामा गइरहेका कम्पनीहरूलाई साधारण शेयर (आईपीओ)मार्फत सार्वजनिक लगानी भित्र्याएर साना लगानीकर्तालाई फसाउने खतरनाक खेल चलिरहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लेले नियामक निकायहरू यसप्रति उदासीन देखिएको भन्दै चिन्ता व्यक्त गरे। “घाटामाथि घाटामा गइरहेका कम्पनीलाई आईपीओमार्फत बजारमा ल्याएर साना लगानीकर्तालाई लोड दिने र अन्त्यमा टाप कस्ने रणनीति डरलाग्दो छ,” वाग्लेले भने, “यसले हाम्रो पूँजी बजार मात्र होइन, समग्र अर्थतन्त्रलाई नै कोल्याप्सतर्फ लैजान सक्छ।”

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठसमेत सहभागी रहेको बैठकमा वाग्लेले हाइड्रोपावर र होटल कम्पनीहरूको नाममा चलखेल भइरहेको आशंका पनि व्यक्त गरे। उनका अनुसार केही कम्पनीहरू ओभर-इनभोइसिङ, क्यापिटल फ्लाइट, अत्यधिक ऋण बोकेर आईपीओमार्फत जनतालाई लोड दिने रणनीतिमा लागेको चर्चा बढ्दो छ।

“हाइड्रोपावरहरू अर्को सहकारीजस्तो बन्न थालेका छन्,” वाग्लेले भने, “होटलहरू पनि च्याउझैँ उम्रिएका छन्। सबैमा एउटै रणनीति देखिन्छ-पहिला ऋण बोक्ने, एक-दुई वर्षमै आईपीओ ल्याउने र अन्त्यमा पन्छिने।”

वाग्लेले दोस्रो स्टक एक्सचेन्जको अनुमतिबारे पनि आलोचना गर्दै हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुधारमा जोड दिनुपर्ने बताए। “भएको नेप्सेलाई दुई–तीन वर्ष सुधार गरौँ, त्यसपछि मात्रै अर्को स्टक एक्सचेन्जको विषय उठाऔँ,” उनले भने, “नयाँ लाइसेन्स दिने नाममा केही व्यक्ति र भ्रष्ट नेताको साँठगाँठमा निजी कम्पनी पोस्ने काम भइरहेको छ।”

पूर्व अर्थमन्त्री युवराज खतिवडाले दोस्रो स्टक एक्सचेन्जको प्रक्रिया ‘प्योर नेकेड करप्सन’ (साफ भ्रष्टाचार) भनेको स्मरण गर्दै वाग्लेले आफू पनि त्यस धारणा पक्षमा रहेको बताए।