
बैंकिङ खबर/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलमाथि मौद्रिक नीतिका संवेदनशील विषयमा पर्याप्त समय नदिएको आरोप लगाएका छन्। सोमबार नेपाल व्यवस्थापन सङ्घले आयोजना गरेको ‘२०८२/८३ को मौद्रिक नीति’ विषयक छलफल कार्यक्रममा गभर्नर पौडेलले करिब २० मिनेट मात्रै सहभागिता जनाएर कार्यक्रम छाडेपछि सांसद झाले असन्तुष्टि जनाएका हुन्।
“यति धेरै दिग्गजहरू भेला भएका यस्तो थलोमा म भए ५०० किलोमिटर पनि धाउँथेँ,” उनले टिप्पणी गर्दै गभर्नर पौडेलप्रति कटाक्ष गरे। झाले व्यंग्य गर्दै भने, “यस्तो प्लेटफर्म छाडेर गभर्नर सावलाई कुन दाइभाउजू भेट्न जान हतार भयोरु?”
सांसद झाले गभर्नरले समय व्यवस्थापन र प्राथमिकताको स्पष्टता नदेखाएको आरोप लगाए। उनका अनुसार मौद्रिक नीति जस्तो गहन र महत्वपूर्ण विषयमा विस्तृत छलफल अत्यन्त आवश्यक छ, र त्यसमा गभर्नरको सक्रिय उपस्थिति अपरिहार्य हुन्छ।
कार्यक्रममा निजी क्षेत्रका व्यवसायी, अर्थशास्त्री, नीति निर्माता र अन्य विज्ञहरूको उपस्थिति रहेको थियो। यस्तो अवसर गुमाउनु चिन्ताको विषय भएको झाको भनाइ छ। उक्त घटनाले मौद्रिक नीति निर्माण र संवाद प्रक्रियामा संलग्न उच्च पदस्थ अधिकारीहरूको भूमिकामाथि प्रश्न उठाएको छ।



