
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले तरलता बढेको भन्दै निक्षेपको ब्याजदर ६ प्रतिशतभन्दा तल झारेसँगै ठूला बचतकर्ताहरू जीवन बीमा कम्पनीहरूतर्फ मोडिन थालेका छन्। खासगरी एकल बीमाशुल्क बीमा (फिक्स्ड डिपोजिट बीमा) योजनाले लगानीकर्ताको चासो बढाएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा जीवन बीमकहरूले ६ अर्ब ८० करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ अर्ब ३८ करोड ९७ लाख रुपैयाँ भन्दा १८४.९२ प्रतिशतले धेरै हो।
मुद्दति बीमा प्रतिको आकर्षण तीव्र
बीमितहरूलाई बैंकको मुद्रास्फीतिलाई पनि नसमेट्ने ब्याजदरभन्दा जीवन बीमाको दीर्घकालीन प्रतिफल र जोखिम कभरेजको सुविधा बढी फाइदाजनक लाग्न थालेको छ। जीवन बीमामा औसत प्रतिफल ५–६ प्रतिशत रहेको भए पनि बीमांकको सुविधा, कर लाभ, र एकमुष्ठ बीमाशुल्क सुविधा आकर्षणको केन्द्र बनेको देखिन्छ।
अभिकर्ताहरूले पहिलो बीमाशुल्कको कमिसन तथा प्रोत्साहन पनि बीमितलाई नै फिर्ता गरिदिने रणनीति अपनाएकाले धेरै बचतकर्ता यो विकल्प रोज्न थालेका हुन्।
बीमालेख बिक्रीमा ४२ प्रतिशत वृद्धि
बीमा प्राधिकरणले प्रकाशित गरेको ’बीमा प्रतिविम्ब’ बुलेटिनका अनुसार, गत वर्षको पहिलो ११ महिनामा १४,६३२ वटा एकल बीमालेख जारी भएकोमा चालु वर्षको सोही अवधिमा यो संख्या २०,७४६ पुगेको छ।
यससँगै कुल बीमाशुल्क आम्दानीमा एकल बीमाशुल्कको योगदान १.७९ प्रतिशतबाट बढेर ४.३९ प्रतिशत पुगेको छ, जुन जीवन बीमा बजारमा महत्वपूर्ण मोडको सङ्केत हो।
बैंक ब्याज घट्दा बीमा ऋण लिएर पुनः लगानीको प्रवृत्ति
२०७७/७८ सालमा जब बैंकहरूको मुद्दति निक्षेपको ब्याजदर १२ प्रतिशत नाघेको थियो, त्यतिबेला बीमितहरूले बीमालेख धितो राखी १० प्रतिशत ब्याजमा ऋण लिएर बैंकमै निक्षेप राख्ने अभ्यास व्यापक भएको थियो। अहिले भने त्यसको ठीक विपरित – बैंकमा प्रतिफल घटेपछि बीमा नै लगानीको विकल्प बन्न थालेको छ।



