
बैंकिङ खबर/ प्रतिनिधिसभाको अर्थ समितिमा सांसदहरूले भारतीय पर्यटकले नेपाल भ्रमण गर्दा भारू १०० भन्दा माथिका नोट ल्याउन नपाउने नीतिप्रति चासो व्यक्त गरेका छन्। बिहीबार समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै गर्दा सांसदहरूले गभर्नर डा. विश्वनाथ पौडेलसँग सोधपुछ गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भारतीय पर्यटकले पर्याप्त रकम ल्याउन नपाउँदा सीमावर्ती क्षेत्रका होटेल व्यवसाय प्रभावित भएको बताए। “पैसा ल्याउन नपाएपछि पर्यटक खर्च गर्न सक्दैनन्, व्यवसायी मारमा परेका छन्,” शाहीले भने।
समितिका सभापति सन्तोष चालिसे, सांसद सूर्यबहादुर थापा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि नीति परिवर्तनको आवश्यकता औंल्याए। सभापति चालिसेले ५०० को नोट प्रतिबन्धको कानुनी आधारबारे प्रश्न गर्दै ठूला नोट नल्याउनुपर्ने कारण स्पष्ट हुनुपर्ने बताए। सांसद थापाले प्रतिबन्धले प्रत्यक्ष रूपमा व्यवसाय र अर्थतन्त्रमा असर परेको जिकिर गरे।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले भारतमा सन् २०१६ मा भएको नोटबन्दीपछि भारू ५०० र हजारका नोटमाथि नेपालमा प्रतिबन्ध लगाइएको स्पष्ट पार्दै भने, “त्यसबेला नेपालमा ठूलो संख्यामा पुराना नोट जाम भएका थिए, भारतले ती साट्न नमान्दा अहिलेको नीति बनाइएको हो।”
उनले भारतीय नागरिक वा भारतबाट फर्किएका नेपालीले भारू १०० भन्दा मुनिका नोटमा पाँच हजार अमेरिकी डलर बराबर रकम भन्सारमार्फत ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिए। तर भारू ५०० वा सोभन्दा माथिका नोट ल्याउन प्रतिबन्ध कायमै रहेको बताए।
सांसद कार्कीले नीति सहज बनाउन सकिने भए पनि यसको दीर्घकालीन असरलाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताए। उनले एकैपटक भारू ५०० वा १००० को नोट खुला गर्दा कमजोर अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिए।छलफलको निष्कर्षमा सांसदहरूले भारतीय पर्यटकलाई सहजता दिँदै अर्थतन्त्रमा दीर्घकालीन असर नपर्ने हिसाबले नीतिगत सुधार आवश्यक रहेको औंल्याएका छन्।