
बैंकिङ खबर/नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले बैंकमा लगानी गर्नेहरू निरुत्साहित हुँदै गएको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गर्नेहरू आफ्नो १०० रुपैयाँको सेयर ४० रुपैयाँमै बेच्न तयार रहेको अवस्था देखिएको बताएका हुन्।
“बैंकमा लगानी गर्नेहरू अहिले निराश छन्,” चौधरीले भने, “१०० रुपैयाँको सेयर ४० रुपैयाँमै बेच्न खोज्दै छन्। मलाई एकजना साथीले लगानीकर्ता खोज्न लगाउँदै थिए।”
उनले अहिलेको अवस्थाले लगानीकर्ताको आत्मविश्वासमा आघात पुगेको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लाई पुनर्लेखन गर्नुपर्नेमा जोड दिए।
सांसद चौधरीले बैंकर र व्यवसायीको भूमिकाबारे अलग छुट्याउने विषयमा सैद्धान्तिक सहमति भए पनि वर्तमान अवस्थामा व्यवहारिक पक्षलाई ध्यान दिनुपर्ने सुझाव दिए।
“बैंक र व्यवसायी छुट्याउने कुरा आदर्शका लागि ठीक हो तर अहिलेको आर्थिक अवस्था हेरेर सोच्नुपर्छ,” उनले भने।
उनका अनुसार बैंक तथा वित्तीय क्षेत्रको नीतिगत अस्थिरताले लगानीकर्ताहरूको मनोबल कमजोर बनाएको छ, जसले समग्र अर्थतन्त्रमा पनि असर पार्न सक्ने संकेत देखिएको छ।



