Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
रियल-स्टेट

बागमती प्रदेशमा घरजग्गा कारोबारदेखि औद्योगिक उत्पादनमा गिरावट

२०८२ असार १७ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो छ महिनामा बागमती प्रदेशमा औद्योगिक उत्पादनदेखि कृषि र घरजग्गा कारोबारसम्ममा गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आधा–वार्षिक अध्ययन प्रतिवेदनले प्रदेशको समग्र आर्थिक क्रियाकलाप कमजोर देखिएको उल्लेख गरेको छ।

औद्योगिक क्षेत्र कमजोर

राष्ट्र बैंकको प्रतिवेदन अनुसार बागमतीका उद्योगहरूले औसत ३३.८ प्रतिशत मात्र उत्पादन क्षमता उपयोग गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ४१ प्रतिशत भन्दा कम हो। यद्यपि, औद्योगिक क्षेत्रमा कूल कर्जाको ३६.६ प्रतिशत लगानी भएको छ।

घरजग्गा कारोबार घट्यो

प्रदेशमा घरजग्गा कारोबार ६.८ प्रतिशतले घटेको छ। यो गिरावट बजारको क्रियाशीलता र लगानीकर्ताको भरोसामा परेको प्रभावको संकेत हो।

कृषि क्षेत्रमा गिरावट

प्रतिवेदन अनुसार बागमतीमा खाद्य बालीले ढाकेको भू–क्षेत्र ५.३ प्रतिशत र खाद्य बाली उत्पादन ४.३ प्रतिशत ले घटेको छ।

प्रमुख बालीहरूमा यस्तो गिरावट देखिएको छ:

  • धान : १.१% घट्यो
  • मकै : ३.७% घट्यो
  • कोदो : ५.१% घट्यो
  • गहुँ : १५.५% घट्यो
  • जौ : ३६% घट्यो

तर, फापरको उत्पादन ४.४% र तरकारी उत्पादन २१.८% ले बढेको छ।

पशुपालनतर्फ सन्तोषजनक वृद्धि

पशुजन्य उत्पादनतर्फ भने केही सकारात्मक संकेत देखिएको छ:

  • दूध उत्पादन : २.२% वृद्धि
  • मासु उत्पादन : ३.१% वृद्धि
  • अण्डा उत्पादन : ०.४% वृद्धि

कृषि, वन तथा माछापालन क्षेत्रमा बागमतीमा १ खर्ब २० अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको ३.७३ प्रतिशत हो।

पर्यटन र वित्तीय क्षेत्र

पर्यटन क्षेत्रमा होटलहरूको औसत अकुपेन्सी दर अघिल्लो वर्षको ५०.६ प्रतिशत बाट ५२.५ प्रतिशत मा पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरूबाट बागमतीमा कर्जा लगानी १९.३ प्रतिशतले बढेको छ भने निक्षेप संकलनको वृद्धिदर ७.९ प्रतिशत मा सीमित रहेको छ।