Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

हुन्डी कारोबारमा संलग्नलाई १ वर्ष कैद र सम्पत्ति जफत

२०८२ असार १७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले हुन्डीमार्फत हुने अवैध वित्तीय कारोबारलाई निरुत्साहित गर्न कडा कानुनी कारबाहीको चेतावनी दिएको छ। बैंकले सोमबार सार्वजनिक सचेतनामूलक सूचनामार्फत गैरकानुनी हुन्डी कारोबार नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार राष्ट्रबाट इजाजत प्राप्त बैंक, वित्तीय संस्था वा विप्रेषण कम्पनीबाहेक अन्य माध्यमबाट हुने अन्तरदेशीय रकम स्थानान्तरण, भुक्तानी वा हिसाब मिलाउने कार्य हुन्डी कारोबार अन्तर्गत पर्छ, जुन कानुनी रूपमा अपराध हो।

के हो हुन्डी ?

राष्ट्र बैंकले हुन्डीलाई यसरी परिभाषित गरेको छ :

“प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरणबाहेक अन्य माध्यमबाट नेपाल वा विदेशमा रकम स्थानान्तरण, भुक्तानी वा हिसाब मिलाउने कारोबार।”

कानुनी प्रावधान

राष्ट्र बैंकले हुन्डी कारोबार मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क अनुसार गैरकानुनी रहेको स्पष्ट पारेको छ।

दण्डको व्यवस्था:

  • बिगो (क्षति) बराबर वा बढी भएको सम्पत्ति जफत

  • अधिकतम १ वर्षसम्मको कैद सजाय

राष्ट्र बैंकको अपिल

राष्ट्र बैंकले विदेशी विप्रेषण वा अन्तरदेशीय रकम स्थानान्तरण गर्न इजाजतप्राप्त बैंक, वित्तीय संस्था वा अधिकृत विप्रेषण कम्पनीको मात्र प्रयोग गर्न अनुरोध गरेको छ।

“क्षणिक लाभको लोभमा गैरकानुनी हुन्डी कारोबार नगरौं,” बैंकले भनेको छ।

किन हुन्डी हानिकारक?

  • राष्ट्रको वैदेशिक मुद्रा सञ्चिति प्रभावित

  • अर्थतन्त्रमा पारदर्शिता र नियन्त्रण गुम्ने

  • आतङ्कवाद र गैरकानुनी कारोबारसँगको सम्बन्ध बढ्ने जोखिम