२५ प्रतिशत बोनस सेयर र २० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको कैलाश विकास बैंकको सेयरधनी पुस्तिका पुस १४ गतेदेखि बन्द हुने भएको छ । जसअनुसार, पुस १३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त बोनस सेयर र हकप्रद सेयर पाउनेछन् ।
हकप्रद सेयर र बोनस सेयर पारित गर्न कैलाशले पुस २९ गते २३ औँ वार्षिक साधारणसभा बस्दैछ । हकप्रद निष्काशनका लागि बैंकले धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । साधारणसभाले पारित गरेपछि बैंकले हकप्रद निष्काशनको मिति तय गर्नेछ ।
कैलाशले राष्ट्र बैंकको निर्देशनअनुरुप न्युनतम चुक्तापुँजी पुर्याउनका लागि बोनस सेयर र हकप्रद सेयर जारी गर्न लागेको हो । हाल बैंकको चुक्तापुँजी एक अर्ब ५८ करोेड रुपैयाँ रहेको छ । बोनस वितरणपश्चात बैंकको पुँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । साथमा, ३१ करोड ६० लाख रुपैयाँ बराबरको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर जारी गर्दा बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँँ नाघ्नेछ । आगामी असार मसान्तसम्ममा कैलाशले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।


