Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन् घरजग्गा कारोबारमा भएका पाँच परिवर्तन

admin २०८२ जेष्ठ २१ गते
सेयर:

बैंकिङ खबर/ घरजग्गा खरिद-बिक्री गर्दा अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेश गरेपछि मात्र लिखत पारित हुने व्यवस्था गरिएको छ । यस्तै, १० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८२ जेठ १३ मा जारी गरेको निर्देशनअनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न यस्तो व्यवस्था गरिएको हो। खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने,एक व्यक्तिले दिनमा तिन करोडभन्दा बढी कारोबार गरेमा राष्ट्रबैंक लाइ जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

त्यसैगरी, १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा लाग्ने रजिष्ट्रेशन दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर विक्रेताको खाताबाट तोकिएको राजस्व खातामा सिधै बैंकिङ प्रणालीमार्फत जम्मा गर्नुपर्ने प्रावधान गरिएको छ।

स्थानीय तहबाट प्रमाणित बैनाबट्टा कागज पेश गर्दा यदि त्यसमा उल्लेख रकम १० लाखभन्दा बढी भए, बैंकबाट गरिएका कारोबार विवरण पनि संलग्न गर्नुपर्नेछ। भूमि विभागले निर्देशनको पालना भए–नभएको अनुगमन गर्नेछ। उल्लंघन भएको पाइएमा सम्पत्ति शुद्धीकरण ऐन र नियमावलीअनुसार कारबाही अघि बढाइने बताइएको छ।

पाँच परिवर्तन

१. केवाईसी फाराम भर्नुपर्ने

घरजग्गा व्यवसायी वा क्रेता तथा विक्रेता दुवैको केवाईसी फाराम भर्न लगाई लिखत रूपमा सिस्टममा अपलोड गर्नुपर्नेछ । भूसेवा केन्द्र दर्ता वा नवीकरण गर्दा सञ्चालकको पनि केवाइसी भर्नुपर्ने छ ।

२. बैंकिङ प्रणाली मार्फत् कारोबार गर्नुपर्ने १० लाख रुपैयाँभन्दा माथिको कारोबार, बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी गर्नुपर्ने । ५० लाख रुपैयाँ माथि चेकमार्फत भुक्तानी गर्दा गुड फर पेमेन्ट चेक मार्फत् गर्नुपर्नेछ ।

३. बैंक स्टेटमेन्ट संलग्न गर्नुपर्ने : घरजग्गाको कारोबार गर्दा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा कारोबार रकम जम्मा भएको प्रमाण बैंक स्टेटमेन्ट संलग्न गर्नुपर्छ ।

४. राजस्व खातामा जम्मा गर्नुपर्ने १० लाख रुपैयाँभन्दा बढीको घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा लाग्ने रजिस्ट्रेसन शुल्क तथा लाभकर राजस्व खातामा जम्मा गर्नुपर्नेछ ।

५. बैनाबट्टाको कागजमा खुलाउनुपर्ने

१० लाख रुपैयाँभन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामार्फत् लेनदेन भएको विवरण बैनाबट्टाको कागजसाथ पेस गर्नुपर्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।