साताको अन्तिम दिनमा आएर सेयर बजार थोरै भएपनि बढेको छ । साताको सुरुदेखि नै लगातार ओरालो लागिरहेको सेयर बजार विहीबार ४.७८ अंकले बढेर बन्द भएको हो । कारोबार खुलेको एक घण्टामा १४६६ अंकसम्ममा झरेको बजार १४७५.७१ अंकमा पुगेर बन्द भएको हो । उत्पादनमूलक र अन्य समूहले विहीबार बजार बढाएका छन् भने बैंकिङ र विकास बैंक समूह पनि बढेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह ३४.०१ अंकले घटेको छ । बैंकिङ, विकास बैंक र अन्य क्रमशः २.९२, ५.८४ र १९.९६ अंकले बढेका छन् । होटल, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः २३.३१, १५.३१, ३.५६ र ९.४८ अंकले घटेका छन् ।
बजार बढेपछि कारोबारमा पनि सामान्य सुधार देखिएको छ । बुधबार ४८ करोडको कारोबार भएको बजारमा विहीबार ५० करोडको कारोबार भएको छ । दिनभरिमा १३८ वटा कम्पनीको सात लाख ६९ हजार नौ सय २० कित्ता सेयर तीन हजार नौ सय ९७ पटक खरिदविक्री हुँदा कुल ५० करोड २२ लाख ३२ हजार आठ सय आठ रुपैयाँ पुँजी परिचालन भएको हो ।
सनराइज बैंकको प्रोमोटर सेयरमा विहीबार सबैभन्दा धेरै आकर्षण देखिएको छ, जसको चार करोड ४२ लाख ८५ हजार नौ सय ९४ रुपैयाँको कारोबार भएको छ । नेको इन्स्योरेन्स र दुरसञ्चार कम्पनीको पनि चार करोडमाथिको कारोबार भएको छ । चिलिमे हाइड्रोको तीन करोड ८९ लाखको कारोबार भएको छ भने एभरेष्ट बैंकको एक करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । यसबाहेक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, हाम्रो विकास बैंक, शिखर इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी लगायतको पनि एक करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
एनबि इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ७.९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ६.५८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । भार्गव विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नेरुडे लघुवित्त, कन्काई विकास बैंक, कालिका माइक्रोक्रेडिट, दुरसञ्चार कम्पनी, ङादी पावर ग्रुप पावर लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले ५.७५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने आईएलएफसीओ माइक्रोफाइनान्सका सेयरधनीले ५.४२ र सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.०२ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । यसबाहेक, हिमालयन डिस्टीलरी, कञ्चन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, एनएमबि बैंक, सिद्धार्थ इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।