April 9th, 2025

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंककले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको तथ्यांकको आधारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।

त्यस्तै आयात ११. २ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च ८३९ अर्ब ३६ करोड र राजस्व परिचालन ७२० अर्ब ३५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति १७ अर्ब २७ करोड डलर, १४ महिनाको आयात धान्न पुग्ने

चालु आर्थिक वर्षको आठ महिनासम्ममा विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । यो अवधिमा कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको छ ।

सञ्चिति अमेरिकी डलरमा असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा फागुन मसान्तमा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा १५.२ प्रतिशतले बढेर २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा ४४.९ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१-८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

फागुनमा भित्रियो डेढ खर्ब रेमिट्यान्स, ८ महिनाको साढे १० खर्ब नाघ्यो

चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै डेढ खर्बभन्दा बढीले रेमिट्यान्स आएको छ । आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स आउदा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स आएको हो ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु आवमा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको उल्लेख छ ।

फागुन मसान्तसम्म रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अमेरीकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा डलरको तुलनामा नेपाली मुद्रामा रेमिट्यान्सको वृद्धिदर बढी देखिएको हो । माघ मसान्तमा ९ खर्ब ५८ करोड रहेको रेमिट्यान्स फागुनमा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँले बढेको हो ।

यस्तै चालु आर्थिक वर्षको फागुनसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस अवधिमा उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली २ लाख ८५ हजार ३५२ जना थिए। त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८२ हजार ७८३ थियो । चालु आर्थिक वर्षको फागुनसम्स अन्तिम श्रम स्वीकृत र पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ।

फागुसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ ।

चालु खाता १ खर्ब ८० अर्बले बचतमा

फागुन मसान्तसम्ममा चालु खाता एवम् शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको चालु खाता यो अवधिमा १ अर्ब ३३ करोडले बचतमा रहेको छ ।

फागुन मसान्तसम्म खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

फागुन मसान्तसम्म ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब ६३ करोड रहेको थियो । यो अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.३ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ७७ अर्ब २३ करोड (४.३ प्रतिशत) ले बढेको हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोड (७.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.५ प्रतिशतले बढेको छ ।

यस्तै, फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.४ प्रतिशत, ३५.३ प्रतिशत र ५१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.५ प्रतिशत, २८.० प्रतिशत र ५८.७ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ । गत वर्षको फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.३०४ अर्ब ८२ करोड (६.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।

२०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशत, विकास बैंकहरुको ३.१ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.७ प्रतिशतले बढेको छ ।

निर्यात ५७ प्रतिशतले बढ्यो, ९ खर्ब ८७ अर्बले व्यापार घाटामा

नेपालबाट हुने वस्तु निर्यातमा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासकोतेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुश लगायतका वस्तुको निर्यात घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १२.५ प्रतिशत र २०.६ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/ धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

खाद्य बस्तुको मूल्य वृद्धिदर घटेसँगै घट्यो समग्र महँगीदर

फागुनमा महँगीदर चालु आर्थिक वर्ष लागेयताकै न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको‍ छ ।

गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा ५.५७ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति त्यसयता मंसिरमा बढेर ६.०५ प्रतिशतसम्म पुगेको थियो । पुसयता लगातार घट्दो क्रममा देखिएकोमा फागुनमा चालु आर्थिक वर्षको न्यून रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको फागुनमा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो।

फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको सुरुवताबाट नै लगातार उच्च देखिएको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति फागुनमा भने गैर–खाद्य तथा सेवा समूहको भन्दा न्युन देखिएको छ ।

बुधबार मात्रै भारतीय केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाले खाद्य पदार्थको मुद्रास्फीति घट्दा समग्र मुद्रास्फीति नै पछिल्लो त्रैमासमा ४ प्रतिशतभन्दा तल झरेको उल्लेख गरेको थियो । साथै आगामी १२ महिना ४ प्रतिशतकै करिब रहने र खाद्यत पदार्थको मुद्रास्फीति त्यसलाई सहयोग गर्ने विश्लेषण आरबीआईका मौद्रिक नीति समितिले गरेको थियो ।

भारतको मुद्रास्फीतिको प्रभाव नेपालमा प्रत्यक्ष रुपमा पर्ने र भारतमा खाद्य समुहको मुद्रास्फीति घटेसँगै नेपालमा पनि घटेको छ । जसले समग्र मुद्रास्फीति नै घटाउन सहयोग पुगेको छ । गत आर्थिक वर्षको फागुनमा पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति गैर–खाद्य तथा सेवा समूहको भन्दा उच्च थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९५ प्रतिशत हुँदा गैर–खाद्य तथा सेवा समूहको ४.०७ प्रतिशत थियो ।

फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४ प्रतिशत, दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७ प्रतिशत, तरकारीको १.२४ प्रतिशत र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.१४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले बढेको छ ।

ग्रामिण क्षेत्रमा उच्च महँगी

फागुनमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.१८ प्रतिशतले बढेको छ । सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.६० प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत, मधेश प्रदेशको ३.५२ प्रतिशत, बागमती प्रदेशको २.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७७ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७७ प्रतिशत, कर्णाली प्रदेशको ३.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत छ ।

यस्तै काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ ।

२०८१ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६९ प्रतिशत थियो। फागुनमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ८.०२ प्रतिशत मध्यवर्ती वस्तुको २.५७ प्रतिशत र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.१७ प्रतिशत छ । फागुनमा निर्माण सामग्रीको थोक मुद्रास्फीति १.६३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Eight-Months-data-of-2081.82