बैंकिङ खबर/ सुनलाई हजारौं वर्षदेखि धनको प्रतीक र मूल्यको भण्डारणको रूपमा प्रयोग हुँदै आएको छ । विशेष गरी आर्थिक संकट, मुद्रास्फीति, र भू–राजनीतिक अस्थिरताको समयमा सुन लगानीकर्ताहरूका लागि सुरक्षित लगानी बन्ने गरेको छ । हालका वर्षहरूमा पनि सुनको माग बढिरहेको छ, जसले यसको मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ ।
शुक्रबार मात्रै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन शुक्रबार एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा २० वर्षमा सुनको भाउ प्रतितोला एक लाख ६६ हजार ९ सय रुपैयाँले बढेको छ । विगत दुई दशकमा सुनको मूल्यमा भएको वृद्धिको तथ्यांक हेर्दा यस्तो देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार वि.सं. २०५९ साल वैशाख ०२ गते सुनको प्रतितोला ९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
मूल्य लगातार उकालो लाग्ने भएकाले सुनमा लगानीको आकर्षण पनि बढ्दो छ । आर्थिक संकट निम्तिएको अवस्थामा त सुन लगानीकर्ताको मुख्य रोजाइमा नै पर्ने गर्छ । सुनले दिने आर्थिक सुरक्षाका कारण यो लगानीकर्ताका लागि महत्वपूर्ण रहँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली सुनको भाउ बढ्ने गति अझै केही समय तेज नै हुने बताउँछन् ।
सुनको इतिहास र महत्व
सुन कतिबेला कसले पत्ता लगायो भन्ने यकिन नभए पनि आजभन्दा ५ हजार सालपूर्व इजिप्टमा सुनबाट बनेका सामग्रीको प्रयोग हुने गरेको पत्ता लागेको छ । सुनको प्रयोग मूल्य (भ्यालु) भण्डारणका लागि उपयुक्त रहेकाले प्राचीनकालदेखि नै धनसञ्चयका लागि सुनको प्रयोग हुँदै आएको पाइन्छ । खिया नलाग्ने र पातलो तार वा पाताको रूपमा पनि विकास गर्न सकिने भएकाले सुन बहुउपयोगी हुन पुग्यो। टिकाउ र चमकदार हुने भएकाले गरगहनाका लागि पनि सुनको प्रयोग हुने गरेको छ ।
कुनै पनि कुरा मुद्रा हुनका लागि त्यो टिकाउ, सजिलै एक ठाउँबाट अर्को ठाउँ लान सकिने, विभाज्य, एक रूप, स्वीकार्य र सीमित हुन जरुरी हुन्छ । सुन खानीबाट उत्खनन् हुो भएकाले एकदमै सीमित हुने गर्छ । साधारण अवस्थामा केहीसँग पनि रासायनिक प्रतिक्रिया नजनाउने भएकाले यो एकदमै टिकाउ हुने गर्छ ।
सुनलाई विभिन्न तौलमा विभाजन गर्न सकिन्छ । मुद्रामा हुनुपर्ने सबै गुण सुनमा भएकाले लामो समयसम्म मुद्राको रूपमा सुनको प्रयोग संसारभर भयो। ६ सय इसापूर्वमा एसिया माइनर क्षेत्रको लिडिया भन्ने स्थानमा प्रयोगमा आएको स्वर्णमुद्रा अहिलेसम्म पाइएको सबैभन्दा पुरानो स्वर्णमुद्रा हो।
विद्युतको उत्तम संवाहक भएकाले विद्युतीय युगमा पनि सुनको प्रयोग उच्च रहेको छ । मोबाइल, कम्प्युटरलगायत विभिन्न डिभाइसको विद्युतीय सर्किटमा पनि सुनको प्रयोग हुने गरेको छ ।
लगानीका लागि सुरक्षित क्षेत्र
लगानीकर्ताहरुका लागि लगानीका विभिन्न विकल्प रहेका हुन्छन् । निश्चित ब्याज पाउने शर्तमा बोण्ड एण्ड डिबेन्चर पनि रहेका हुन्छन् । अन्तरराष्टिय बजारमा पनि लगानीका विभिन्न विकल्प रहेका हुन्छन् नै । जसअन्तर्गत कमोडिटि बजार जसमा सुन, कोइला,कफीदेखि ग्यास र तेलको कारोबार हुने गर्छ । त्यसैगरी, अन्य लगानीमा फरेक्स, क्रिप्टोकरेन्सिमा लगानीका विकल्प रहेका हुन्छन् ।
कोरोना महामारीको समयमा नेपालमा मात्रै नभएर विश्व सेयर बजारमा निकै चमक आएको थियो । त्यो समयमा पूँजीबजारमा नयाँ (नयाँ अर्बपति जन्मिएका थिए । लण्डनबाट प्रकाशित हुने मार्केटवाच डटकमले उल्लेख गरे अनुसार सन् २०२३ मा अन्य क्षेत्रको लागानीकर्ताहरुले भन्दा सुनमा लगानी गरेका लगानीकर्ताले बढी कमाएका छन् । वित्तीय संसारका गम्भीर लगानीकर्तादेखि नयाँ व्यापारीसम्मले सुनको चर्चा गर्न थालेका छन् ।
पछिल्लो समय यस्ता लगानीकर्ताको दिन फर्किएको छ । यो वर्ष विश्वमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने परम्परागत सम्पत्तिमा सुन अगाडि छ । दुई वर्षदेखिको रसिया– युक्रेनको युद्ध तथा पछिल्लो समयमा इजरायल र प्यालेष्टाइनमा विथोलिएको अशान्तिले गर्दा लगानीकर्ता सुरक्षित लगानीको खोजीमा छन् ।
यसक्रममा विभिन्न देशका लगानीकर्ताहरु सुरक्षित लगानीतर्फ आकर्षित भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । नेपाल र भारतमा वैवाहिक समारोहमा सुनलाई गहनाका रुपमा बढी प्रयोग हुन्छ । सुन परम्परागत रुपमा पनि बलियो र अत्यावश्यक धातु हो । यतिबेला विश्वको अर्थतन्त्र कमजोर बन्दै जाँदा सेयर बजार, रियल स्टेट, बोन्ड मार्केटमा भारी गिरावट आइरहेको छ । साथै अनिश्चितता पनि बढाइरहेको छ । तर सुनमा भने मानिसहरुको लगानी बढाएका छन् ।
सन् २०२४ मा कुन देशले कति सुन किने ?
नेसनल बैंक अफ पोल्यान्ड सन् २०२४ मा सुनको सबैभन्दा ठूलो खरिदकर्ता थियो। विश्व गोल्ड काउन्सिलका अनुसार पोल्यान्डको केन्द्रीय बैंकले सन् २०२४ मा ९० टन सुन किन्ने छ। योसँगै यसको सुनको भण्डार बढेर ४४८ टन पुगेको छ।
टर्कीको केन्द्रीय बैंकले सन् २०२४ मा ७५ टन सुन खरिद गरेको थियो। योसँगै टर्कीको कुल सुनको भण्डार बढेर ५८५ टन पुगेको छ। ७२ टन सुन किनेर भारत दोस्रो स्थानमा छ।
चीनले सन् २०२४ मा ३४ टन सुन किनेको छ। तर चीनको सुनको भण्डार भारतको भन्दा झन्डै तीन गुणा बढी छ। गोल्ड काउन्सिलका अनुसार चीनसँग २ हजार २६४ टन सुनको भण्डार छ।
सन् २०२४ मा सुनको प्रमुख खरिदकर्तामा हंगेरी (१६ टन), सर्बिया (८ टन), जर्जिया (७ टन), उज्वेकिस्तान (११ टन) र चेक गणतन्त्र (नोभेम्बरमा २ टन) पर्छन्।
सुन लगानीको सुरक्षित क्षेत्र बन्नुका कारण
(क) आर्थिक संकटमा सुरक्षाको उपाय
जब बैंकिङ संकट, मन्दी, वा वित्तीय प्रणाली अस्थिर हुन्छ, लगानीकर्ताहरू शेयर बजार वा डिजिटल सम्पत्तिबाट बाहिरिएर सुनतर्फ आकर्षित हुन्छन्।
(ख) मुद्रास्फीति नियन्त्रण गर्ने साधन
जब मुद्राको मूल्य घट्छ (मुद्रास्फीति बढ्छ), सामान तथा सेवाहरू महँगो हुन्छन्। यस्तो अवस्थामा सुनको मूल्य पनि वृद्धि हुन्छ।
(ग) सीमित आपूर्ति, बढ्दो माग
सुन पृथ्वीमा सीमित स्रोत हो, जसको उत्खनन वर्षौंसम्म स्थिर मात्रामा भइरहन्छ। जबकि, यसको औद्योगिक, गहना, र लगानीको माग बढिरहेको छ।
(घ) भू–राजनीतिक अस्थिरताका बेला आकर्षक सम्पत्ति
युद्ध, अन्तर्राष्ट्रिय व्यापार विवाद, वा राजनीतिक अस्थिरताका कारण सुनको मूल्यमा वृद्धि हुन्छ। हालको अस्थिर आर्थिक परिवेशमा सुन लगानीकर्ताहरूका लागि सुरक्षित सम्पत्तिको रूपमा स्थापित हुँदै गएको छ । नेपालजस्तै सुनको उच्च सांस्कृतिक र लगानी मूल्य भएका देशहरूमा यसको लोकप्रियता बढ्दै गएको छ ।