March 26th, 2025

जनउत्थान सामुदायिक लघुवित्तको वित्तीय साक्षरता तथा गुनासो सुनुवाइ सम्पन्न

बैंकिङ खबर/रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेर १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयमार्फत वित्तीय कारोवार संचालन गर्दै आएको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कोटातुल्सीपुर अनुगमन बेश कार्यालय अन्तर्गतका ९ वटा शाखा कार्यालय र कोहलपुर अनुगमन बेश कार्यालय अन्तर्गतका ३ वटा शाखा कार्यालयहरुमा आफ्ना ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तथा गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सोही क्रममा संस्थाको परशुराम, रैकवारविचवा, लालझाडी, कोटातुल्सीपुर, प्रतापपुर, दुर्गौली, शान्तीबजार, ठाकुरबाबा, बढैयाताल, बागेश्वरी, ककौरा र कोहलपुर शाखा कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

विभिन्न शाखामा रहेका सदस्यहरुको प्रतिनिधिहरुको अध्यक्षता रहेको उक्त कार्यक्रममा सस्थाका संचालक समिति अध्यक्ष डा.मानबहादुर वि.के., प्रमुख कार्याकारी अधिकृत सुनिल कुमार राय, नायब प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद उपाध्याय, केन्द्रीय कार्यालय इकाई प्रमुख सन्तोष रसाईली, अनुगमन अधिकृत मधु कँवर, स्थानीय जनप्रतिनिधिहरु , शाखाका कर्मचारीहरु, सुरक्षा निकाय र संस्थामा आवद्ध रहेका सदस्यहरु गरी कुल ९९७ जनाको सहभागिता रहेको थियो ।

संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद उपाध्याय, इकाई प्रमुख सन्तोष रसाईली र अनुगमन अधिकृत मधु कुँवरले वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गरेका थिए । उनीहरुले वित्तीय साक्षरताको महत्व र दैनिक जीवनमा यसको प्रयोग, कर्जा, बचत, डिजिटल फ्रडहरु र फ्रडवाट बच्ने उपायहरु तथा संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा अभिमुखीकरण गर्नुको साथै सदस्यहरुको गुनासोहरु पनि सुनुवाइ गरेका थिए ।

कार्यक्रममा सहभागी संस्थाका संचालक समिति अध्यक्ष डा. मानबहादुर वि.केले लघुवित्त संस्थाहरुको स्थापनाले स्थानीय समुदायको वित्तीय सुधार र समृद्धिमा योजदान रहेको बताएका थिए ।

त्यस्तै कार्यक्रममा सहभागी लम्की चुहा न.पा. वडा नं. ७ का वडाध्यक्ष रामप्रसाद चौधरी, बढैयाताल गा.पा बर्दिया वडा नं.७ का वडाध्यक्ष राधेश्याम चौधरी, बाँसगढी बर्दिया वडा नं ८ का वडा अध्यक्ष तुल प्रसाद गौतम, कोहलपुर न.पा वडा नं. ११ की वडाध्यक्ष कल्पना शर्मा, लालझाडी गा.पा.प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की लगायतले लघुवित्त संस्थाहरु स्थानीय तहमा रहेर विपन्न वर्गमा सेवा गरेको र महिलाहरुको आर्थिक विकाश सम्भव भएकोमा सस्थाहरुको कार्य अझै धेरै विपन्न वर्गमा जानुपर्ने बताएका थिए । साथै उनीहरुले बैंक वित्तीय संस्थाहरु हरेक समयमा आवश्यक रहेको भन्दै यी संस्थाहरुप्रति ग्राहकहरुको अपनत्व हुनुपर्ने र सदस्यहरुले पनि वित्तीय कारोवार गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

साथै उपस्थित सहभागिहरुले पनि यस्ता कार्यक्रमहरुले असल वित्तीय कारोवार गर्न सहयोग मिल्ने र आफ्ना गुनासोहरु राख्न पाइने हुनाले संस्थाप्रति अपनत्व बढ्ने बताएका थिए ।

कार्यक्रममा सदस्यहरुको गुनासो सुनुवाइ गर्ने, हरेक शाखामा रहेको उत्कृष्ट केन्द्रहरु तथा सफल उद्यमिहरुलाई समान्न गर्ने कार्यक्रम रहेको थियो ।

साथै सोही अवसरमा विश्वभर मनाइएको ग्लोवल मनि वीक २०२५ को सन्दर्भमा कोहलपुर, वाँसगढी तथा मैनापोखर बजारमा वित्तीय सचेताना गराउने उद्देश्यले प्रभातफेरी समेत गरिएको थियो ।

यस कार्यक्रमले सदस्यहरु असल वित्तीय कारोवारमा प्रेरित हुने तथा सदस्यहरुको गुनासो सुन्ने र सो को आधारमा सदस्यमैत्री सेवाका लागि थप नयाँ नीति तथा रणनीति निर्माण गर्न सहयोग मिल्ने अपेक्षा रहेको सस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले बताएका संस्थाका अनुगमन अधिकृत मधु कुँवरले जानकारी दिए ।