वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका पर्वतकुमार कार्कीले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त भइ कार्यभार सम्हालेको एक वर्ष पुगेको छ । यस्तै कोषले हालै ३५औं वार्षिकोत्सव पनि मनाएको छ । यस अवधिमा भएका कार्यसम्पादन, नागरिक लगानी कोषका गतिविधि एवम् आगामी दिनका लागि नागरिक लगानी कोषले निर्धारण गरेको कार्ययोजनाबारे कोषका कार्यकारी निर्देशकसँग गरिएको कुराकानीको सम्पादित अंश ।
कोषले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभा पुस मसान्तभित्रै सम्पन्न गरेको छ । पहिले सधैं ढिलो हुने साधारणसभा यस पटक पुस मसान्तभित्र गर्न कसरी सम्भव भयो र साधारणसभाले पारित गरेको वित्तीय विवरण एवं लाभांश के-कस्तो रह्यो ?
कोषले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै साधारणसभा सम्पन्न गर्ने गरी नयाँ आर्थिक वर्षको सुरुमै योजनबद्ध ढंगले काम अगाडि बढाएको थियो । यसैअनुरुप बाह्य लेखा परीक्षणको कार्य समयमै सुरु गरिएको र लेखा परीक्षणमा आवश्यक पर्ने कारोबारको विवरण निर्दिष्ट समयमै तयार गरी लेखा परीक्षकलाई उपलब्ध गराउन सम्बन्धित सबै कर्मचारीले अथक मिहिनेतका साथ काम गर्नुभयो ।
लेखा परिक्षणका लागि खटिनुभएका बाह्य लेखा परीक्षकले पनि समयसारिणीसहितको निश्चित कार्ययोजना बनाई निर्धारित समयमै कार्य सम्पन्न गर्न विशेष मिहिनेत गर्नुभयो । समग्रमा सञ्चालक समितिको मार्गदर्शन तथा हौसला कोषका कर्मचारीको लगनशीलता, गत वर्षको साधारणसभाले प्रदान गरेको मार्गदर्शनबाट पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न कोष सफल भएको हो ।
कोषको तीसौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणलाई स्वीकृत गर्नुका साथै आम्दानी बाँडफाँड हिसाबबाट छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) गरी १३ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।
यसअनुसार कोषले नियमित रूपमा आफ्ना सेयरधनीलाई उचित प्रतिफल दिन सफल भएको छ । स्थापनाकालमा २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कोषको पुँजीमा धेरै ठूलो वृद्धि भएको छ । ३०औं साधारणसभापछि कोषको चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को साधारणसभाले स्वीकृत गरेको वित्तीय विवरणअनुसार सहभागी कोष २ खर्ब ३६ अर्ब रहेको र लगानी २ खर्ब ४८ अर्ब रहेको छ । केन्द्रीय हिसाबतर्फ सो आर्थिक वर्षमा १ अर्ब १५ करोड खुद नाफा भएको छ ।
कोषले हाल सञ्चालन गरिरहेका योजना तथा कार्यक्रमबारे केही बताइदिनुहुन्छ कि ?
कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ । कोषले हाल विभिन्न सात वटा कार्यक्रम-योजना सञ्चालनमा ल्याएको छ । यी योजनामा कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता हिसाब योजना, राष्ट्रसेवक कर्मचारी जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष रहेका छन् ।
कर्मचारी बचत वृद्धि अवकाश कोषमा निजामती कर्मचारी वा सरकारी-अर्धसरकारी वा प्रचलित कानुनबमोजिम स्थापित गैरसरकारी संगठित संस्थामा कार्यरत कर्मचारी सहभागी हुन सक्छन् । कोषका सहभागीले बचत गर्न सुरु गरेको दुई आर्थिक वर्ष (७३० दिन) पछि बचत रकमबाट सापटी सुविधा लिन सक्ने व्यवस्था छ । साथै, सहभागीलाई कोषले निजी आवासीय घर निर्माण, घर खरिद, फ्ल्याट खरिद, घर मर्मत, घर सजावटलगायतका शीर्षकमा कर्जा प्रदान गर्ने गर्दछ ।
यसैगरी सहभागीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि घरजग्गा धितोमा सरल कर्जा सुविधासमेत कोषले दिँदै आएको छ । सहभागीको जम्मा बचत रकममा ब्याज र थप प्रतिफल दिने एवं सहभागी बचतकर्ताको दुर्घटना भई मृत्यु भएमा एक लाख रुपैयाँसम्मको विपद् सहुलियतको व्यवस्थासमेत रहेको छ । यस कोषका सहभागीलाई आयकर नियमावली, २०५९ (पन्ध्रौं संशोधन) अनुसार वार्षिक पाँच लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ, सो रकमसम्म कर छुटसमेत हुने व्यवस्था छ ।
उपदान तथा पेन्सन योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी यस योजनमा सहभागी हुन सक्छन् । पेन्सन प्राप्त गर्न सहभागीको उमेर ५८ वर्ष वा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । सहभागीको १५ वर्ष बचत नहुँदै ५८ वर्ष पूरा भएमा जम्मा गरेको रकम र सोबाट आर्जित ब्याज र प्रतिफल एकमुष्ट वा पेन्सनको रूपमा लिन सक्नुहुनेछ । यस योजनामा योगदनामा आधारित हुन संगठित संस्थामा कार्यरत कर्मचारीको तलबबाट केही रकम कट्टा गरी सो रकममा संस्थाले थप गर्नुपर्ने व्यवस्था रहेको छ । गैरयोगदनामा आधारित भन्नाले संगठित संस्थाले मात्रै जम्मा गर्ने व्यवस्थालाई बुझाउँछ ।
लगानीकर्ता अवकाश योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी योजनामा सहभागी हुन सक्नेछन् । कर्मचारीको औषधोपचार खर्च, कल्याणकारी कोष, बीमा कोष, हित कोष, वार्षिकोत्सव बापतको कोष, सञ्चित बिदालगायतका दायित्व व्यवस्थापनका लागि यस योजनामा सहभागी हुन सकिन्छ ।
नागरिक एकांक योजनाअन्तर्गत साना तथा मध्यमस्तरका लगानी कर्ताहरूबाट रकम सकलन गर्ने र सो पुँजीलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रवद्र्धन गरी सोबाट प्राप्त भएको प्रतिफल सहभागीलाई वितरण गर्ने गरिन्छ ।
नागरिक पेन्सन योजनामा सबै नेपाली नागरिक सहभागी हुन सक्नेछन् । यसमा गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकसमेत सहभागी हुन सक्ने व्यवस्था कोषले गरेको छ । न्यूनतम मासिक पाँच सय रुपैयाँ जम्मा गरेर योजनामा सहभागी हुन सकिने तथा आफ्नो क्षमतानुसार १० ले भाग जाने जतिसुकै रकम पनि जम्मा गर्न सकिने व्यवस्था यस योजनामा रहेको छ । जम्मा भएको रकममा आकर्षक ब्याज÷प्रतिफलका अतिरिक्त अन्य सुविधासमेत रहेको छ । सहभागीको उमेर ६० वर्ष पूरा भएपछि मासिक रूपमा नियमानुसार पेन्सन लिन सकिने र पेन्सन लिन नचाहे योजनामा सहभागी भएको निश्चित समयपछि एकमुष्ट रकम फिर्ता भुक्तानी लिन सकिने व्यवस्था रहेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्को बीमा कोषमा नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीको मासिक पारिश्रमिकबाट तोकिएको रकम कट्टा गरी सोमा परिषद्को तर्फबाट त्यति नै रकम थप गरी कोषमा जम्मा भएको रकमलाई लगानी गर्ने र सोबाट परिषद्का कर्मचारीको बीमा व्यवस्था गर्न यो कोष सञ्चालन गरिएको हो । कोषले सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रममा कर्जा सापटी सुविधालगायत उचित प्रतिफल र विभिन्न सामाजिक सुरक्षाका सुविधासमेत दिने गरिएको छ । यी कार्यक्रममा सहभागी भएर नेपाली नागरिकलाई आफ्नो अवकाश जीवनलाई आर्थिक रूपमा थप सुरक्षित बनाउने अवसर कोषले प्रदान गरेको छ ।
कोषले सञ्चालन गरिरहेका योजना तथा कार्यक्रम विशेषगरी रोजगारीमा रहेका नागरिकका लागि ल्याइएजस्तो बुझिन्छ । आमसर्वसाधारण र नेपाली नागरिकलाई कोषले कसरी समेटिरहेको छ ?
कोषका योजनामध्ये धेरैजसो योजना राष्ट्रसेबक कर्मचारी, विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी लक्षित रहेकामा आमनागरिकलाई समेत समेट्ने गरी कोषले विगत केही वर्षदेखि नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनामा मुलुकभर बस्ने दूरदराज, गाउँठाउँका नागरिकलाई समेत समेट्ने लक्ष्यसहित यो योजना सञ्चालनमा ल्याइएको हो । यसका अतिरिक्त विदेशमा रहेका, वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनीलाई पनि उहाँहरूले कमाएको केही पैसा अवकाश उमेरमा सदुपयोग होस भनी त्यस्ता वर्गलाई कोषमा समाहित गर्ने लक्ष्यसमेत नागरिक पेन्सन योजनाको रहेको छ ।
योजनामा सहभागी हुनेहरूले सक्रिय जीवनमा कमाएर यस योजनामा जम्मा गरेको रकमबाट उमेर ६० वर्ष पूरा भएपछि १५ वर्ष योगदान गरेको अवस्थामा वा बचतकर्ताको १५ वर्ष बचत नगर्दै ६० वर्ष उमेर पूरा भए इच्छाअनुसार मासिक रूपमा पेन्सन लिन वा एकमुष्ट रकम भुक्तानी लिन सक्ने व्यवस्था कोषले मिलाएको छ । यो योजनालाई प्रभावकारी बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्य (प्रचार प्रसार र अन्तक्र्रिया आदि) भइरहेको र स्थानीय निकायसँग समेत समन्वय गरेर बढीभन्दा बढी आमनागरिकलाई कार्यक्रममा समावेश गर्ने योजना राखेका छौं ।
यसैगरी सबै नागरिक सहभागी हुन सक्ने नागरिक एकांक योजना पनि कोषमा कार्यान्वयनमा रहेको छ । आगामी दिनमा अवकाश योजनाका सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रमा भएको अवधारणा तथा असल अभ्यासलाई कार्यान्वयनमा ल्याइने सन्दर्भमा थप अध्ययन अनुसन्धान कोषले गरिरहेको छ ।
कोषको हालका लगानीका क्षेत्रबारे प्रकाश परिदिनुहुन्छ कि ?
चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले २ खर्ब ६४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कोषको लगानी २ खर्ब ३५ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । यस अनुसार यस अवधिमा १२.६४ प्रतिशतले लगानी वृद्धि भएको छ ।
कुल लगानीमध्ये मुद्दती निक्षेपमा करिब ५२ प्रतिशत लगानी रहेको छ भने नेपाल सरकारको ऋणपत्रमा ०.१९ प्रतिशत, समयकालीन कर्जामा ९.७४, सहायक कम्पनीमा १.०३, सहभागी सापटी तथा आवास कर्जामा २०.७५, ट्रेजरी बिलमा ४.४४, संगठित संस्थाको सेयर/धितोपत्रमा ११.६७ प्रतिशत लगानी छ ।
आगामी दिनमा सरकारी प्राथमिकताका भौतिक पूर्वाधारका परियोजना, कृषि, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा तथा पुँजी बजारका क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना कोषको रहेको छ ।
कोषको लगानी संरचना हेर्दा मुद्दती निक्षेपमा अधिक लगानी भएको देखिन्छ । यसबारेमा तपाईंको धारणा के छ ?
तुलनात्मक रुपमा अन्य क्षेत्र भन्दा मुद्दती निक्षेपमा लगानी अलि बढी रहेको छ । यसरी मुद्दती निक्षेपको लगानी अंश धैरै हुनुमा विभिन्न कारण रहेका छन् । पहिलो कारण, विगतमा मुद्दती निक्षेपको प्रतिफल दर आकर्षक हुनु नै हो भने यो लगानी अन्य क्षेत्रको लगानीभन्दा सुरक्षितसमेत हुने हुन्छ । दोस्रो कारण, लगानीका लागि सुरक्षित र आकर्षक क्षेत्रको पहिचान तथा उपलब्धतामा कमीले गर्दा पनि मुद्दती निक्षेपमा बढी लगानी रहन गएको हो ।
लगानीको यो अधिकेन्द्रितलाई कम गर्न कोषले लगानीका अन्य क्षेत्रको पहिचान गर्ने, पूर्वाधार निर्माणका क्षेत्र, उत्पादनशील क्षेत्र, पुँजी बजारको क्षेत्रमा लगानी बढाउने योजना बनाई कार्य थालनी गरेको छ । यद्यापि अवकाश कोष सञ्चालन गर्ने संस्थाहरूले सहभागीबाट संकलन भएको रकमको लगानी गर्दा सुरक्षित लगानीलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ र अवकाश रकम भुक्तानीका लागि दैनिक रुपमा आवश्यक पर्ने तरलता उपलब्धताका लागिसमेत उल्लेख्य रकम निक्षेपमा राख्नुपर्ने आवश्यकता हुन्छ ।
मुद्दती निक्षेपको अंश घटाउँदै लग्ने भन्नुभयो । यसरी घटाउँदा यसका विकल्पमा अरु कुन–कुन क्षेत्र उपयुक्त हुने देख्नुभएको छ ?
लगानी विविधीकरणका लागि कोषले आफ्नो लगानी नीति र कर्जा कार्यविधिमा केही परिमार्जन गरेको छ । लगानी विविधीकरणका क्षेत्रगत कुरा गर्दा माथि उल्लेख गरिएअनुसार अहिलेको परिवेशमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माणका परियोजना, कृषि, पर्यटन, मझौला उद्योगजस्ता उत्पादनशीलक्षेत्र, पुँजीबजार क्षेत्र एवं आफ्ना सहभागीलाई प्रदान गरिने कर्जा नै हुन् ।
यसै सन्दर्भमा कोषले जलविद्युत् परियोजनामा लगानी गर्न थालेको छ । पुँजी बजारका विभिन्न उपकरणमा लगानी बढाउने गरी कार्य अघि बढाएको छ । सरकारी ऋणपत्रमा समेत लगानी वृद्धि गर्दै लगिएको छ । सहभागीलाई प्रदान गरिने कर्जाको सिलिङ बढाइएको छ ।
लगानी जोखिम व्यवस्थापन कसरी गर्ने गरिएको छ । लगानी सुरक्षाबारे के भन्नुहुन्छ ?
लगानी जोखिम कम हुने गरी नै कोषको लगानी नीति एवं कर्जा कार्यविधिमा विभिन्न मापदण्डको व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको छ । सोही मापदण्डको आधारमा मात्र कोषले लगानी गर्ने गर्छ । उक्त मापदण्डका अत्तिरिक्त निक्षेप राख्ने सन्दर्भमा निक्षेपको ब्याजदर, बैंकको एनपीएलको अवस्था, कस्ट अफ फन्डलगायतको तुलनात्मक अध्ययन गर्ने गरिन्छ भने सेयर लगानीका सन्दर्भमा कम्पनीको समग्र वित्तीय सूचकांकको विश्लेषण गर्नुका साथै कम्पनीसँग सम्बन्धित गैरवित्तीय सूचनाको समेत सूक्ष्म रुपमा विश्लेषण गर्ने गरिन्छ । पुँजी बजारका अन्य उपकरणमा लगानी गर्दा ती उपकरणबाट आउने प्रतिफल, उपकरणलाई आवश्यकताअनुसार तरलतामा तत्काल परिवर्तन गर्न सकिन्छ÷सकिँदैन भन्ने अवस्थाको विश्लेषण गरेर लगानी गर्ने गरिन्छ ।
यसैगरी सहभागीलाई प्रदान गरिने कर्जाको हकमा धितोको पर्याप्तता, कर्जा भुक्तानी तालिकाअनुसार कर्जा चुक्ता गर्न सक्ने क्षमता अर्थात् ऋणीको क्यास फलोको अवस्था, धितोको गुणस्तर, ऋणीको क्रेडिट हिट्री लगायतका विषयलाई विश्लेषण गर्ने गरिन्छ ।
परियोजना कर्जाका सन्दर्भमा परियोजनाको समग्र विश्लेषण, यसमा अन्तरनिहित जोखिम, यी जोखिम व्यवस्थापन गर्न परियोजनाले अवलम्बन गर्ने रणनीति, परियोजना सम्पन्न हुन लाग्ने समयावधि, परियोजनाबाट प्राप्त हुने प्रतिफललगायतलाई प्रमुख रुपमा विश्लेषण गरेर मात्र लगानी गर्ने गरिन्छ ।
लगानी सुरक्षालाई कोषले पहिलो प्राथमिकतामा राखेको छ । त्यसैले सुरक्षित लगानीमा कोषले जोड दिँदै आइरहेको हो । सुरक्षित लगानीका लागि नै माथि उल्लेख गरिएअनुसार जोखिम व्यवस्थापनका विभिन्न उपाय अवलम्बन गर्ने गरिन्छ ।
पुँजी बजारको विकासका लागि कार्य गर्ने कोषको उद्देश्यमा देखिन्छ । यसतर्फ के–के कार्य भएका छन् ?
नागरिक लगानी कोष ऐनको प्रस्तावनामै ‘देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पँुजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउन एउटा नागरिक लगानी कोषको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोे’ उल्लेख छ ।
त्यसैले कोषले पुँजी बजारको विकासमा सघाउ पु¥याउने गरी विभिन्न कार्य गरिरहेको छ । यसै सन्दर्भमा कोषले मर्चेन्ट बैंकको रूपमा समेत विभिन्न सेवा प्रदान गर्ने गर्दछ । यसका अलावा कोषले पुँजी बजारका विभिन्न उपकरण सेयर, बन्ड, डिबेन्चरलगायतमा लगानी गर्दछ । कोषले दोस्रो बजारमा सेयर खरिद बिक्रीको कार्यसमेत गर्ने गरेको छ । पुँजी बजारको विकासमा सघाउ पु¥याउने क्रममा कोषले सहायक कम्पनीको रुपमा नागरिक स्टक डिलर कम्पनीको स्थापना गरेको हो । यस कम्पनीले समेत पुँजी बजारको विकासमा सघाउ पुर्याइरहेको छ ।
नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर स्थापना भएको पनि ५ वर्ष भइसकेको छ । स्टक डिलरको कार्यसम्पादन कस्तो छ ?
कोषको सहायक कम्पनीको रुपमा स्थापित नागरिक स्टक डिलर सञ्चालनमा आएको ५ वर्षे अवधिमा सन्तोषजनक कार्य गरिरहेको छ । स्टक डिलरको कार्य सुरु गर्ने यो नै नेपालको पहिलो कम्पनी भएकाले कतिपय आवश्यक पूर्वाधार निर्माण गर्न पनि समय लाग्न गयो ।
यद्यपि स्थापना कालमा डिलरको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेकोमा स्थापनाको केही वर्षमै अर्थात् आर्थिक वर्ष २०७८/८९ मा ६.८५ प्रतिशत बोनस सेयर दिन कम्पनी सफल भई हाल चुक्ता पुँजी ३ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को पछिल्लो उपलब्ध अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३८ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीमा डिम्याट खाता खोल्ने, कारोबार खाता खोल्ने ग्राहकको संख्या बढिरहेको छ । डिलरले चालू आर्थिक वर्षको अन्त्य सम्ममा हुने सञ्चित मुनाफाबाट सेयरधनीलाई उचित प्रतिफल लाभांशको रुपमा प्रदान गर्ने योजनासहित आफ्ना व्यावसायिक क्रियाकलाप सञ्चालन गरिरहेको छ ।
हाल वित्तीय क्षेत्रमा अधिक तरलता देखिएको छ । बैंकको ब्याजदर तलमाथि हुँदा कोषको नाफामा के–कस्तो प्रभाव पर्ने देख्नुहुन्छ ?
कोषको लगानीको ठूलो हिस्सा वाणिज्य बैंकहरूको निक्षेपमा रहेको र हाल निक्षेपको ब्याजदर न्यून रहेको परिप्रेक्ष्यमा यसले कोषको नाफा नोक्सान हिसाबमा निश्चय नै ठूलो प्रभाव पार्छ नै । यो विषय कोषका लागि चुनौतीको रुपमा रहेको छ ।
यसलाई सतर्कतापूर्वक व्यवस्थापन गर्न कोष संवेदनशील छ । यस्तो अवस्थालाई ध्यानमा राखेरै कोषले आफ्नो पोर्टफोलियो व्यवस्थापन योजना बनाएको छ । यसैका लागि कोषले लगानी विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ । अब कोषले विस्तारै अन्य क्षेत्रमा लगानी बढाउँदै लगेको र ब्याजदरको अवस्थामा केही समयमा सुधार आउने अपेक्षा समेत रहेकाले नाफा नोक्सान अवस्थामा सुधार हुँदै जाने अपेक्षा गरिएको छ ।
सहभागीलाई दिने सेवालाई कसरी चुस्त÷दुरुस्त राख्नुभएको छ ?
कोषले आफ्नो सेवालाई प्रभावकारी बनाउन यान्त्रिकीकरणमा विशेष जोड दिएको छ । कोषको हिसाब–किताबलाई चुस्त/दुरुस्त राख्न तथा सेवाग्राहीलाई छिटो, छरितो एवं झन्झटरहित सेवा प्रदान गर्न डिजिटलाइजेसन र अटोमेसनलाई विशेष प्राथमिकतामा राखेको छ । यसका लागि विभिन्न काम गरिएको र थप कार्य भइरहेको छ ।
सेवाग्राहीलाई सूचना लिने सुविधाका लागि सिआइटी स्मार्ट मोवाइल एप कार्यान्वयनमा रहेको छ । राष्ट्रसेवक कर्मचारीबाट संकलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली (सिजीएएस)बाट लिने व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा ल्याइएको छ भने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली(सुत्र)सँग कोषको कोर सफ्टवेयरलाई आबद्ध गर्ने कार्य भइरहेको छ ।
यसबाट स्थानीय निकायका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको कर्मचारी बचत वृद्धि कोष र सावधिक जीवन बीमा कोषको कोष कट्टी विवरण सोझै सुत्रमार्फत कोषको सफ्टवेयरमा आउनेछ ।
कोषको इ सिर्भिस पोर्टलबाट कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीले विशेष सापटीका लागि अनलाइन आवेदन दिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यही पोर्टलबाट अफिस लगइन गरी नयाँ सहभागी ग्राहकको कोषमा खाता खोल्न सकिने व्यवस्थासमेत मिलाएको छ ।
सहभागीहरूले एनसिएचएलको कनेक्ट आइपिएस, खल्ती र ईसेवाजस्ता वालेटबाट किस्ता रकम कोषमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएएको छ । यसैगरी सहभागीको ‘कि’ विवरण अनलाइनबाटै अपडेट गर्न सकिने व्यवस्था मिलाइएको छ । सहभागीले अन्तिम भुक्तानी सोझै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।
यसरी कोषले अटोमेसनको माध्यमबाट सेवालाई सहज, सरल बनाउँदै लगेको छ भने कार्यालयमा भौतिक रुपमा उपस्थित हुने/हुनुपर्ने ग्राहकलाई हेल्प डेस्क व्यवस्था गरी आवश्यक सूचना उपलब्ध गराउने र विभिन्न शाखामा ग्राहकलाई सरल तरिकाले सेवा प्रदान हुने व्यवस्था मिलाएको छ ।
नागरिक लगानी कोषको कारोबारलाई थप डिजिटल रूपमा सञ्चालन गर्न के गर्नुपर्ला ?
कोषको कार्यलाई पूर्ण डिजिटलाइज गर्न समय लाग्ने हुँदा क्रमिक रुपमा यसतर्फ अघि बढिरहिएको छ । कोषले आफ्नो कोर बिजनेस प्रोसेसिङका लागि इन्टिग्रेटेट वेब बेस्ट सफ्टवेयर प्रयोगमा ल्याएको र यस सफ्टवेयरमा देखिएका कमी–कमजोरीलाई क्रमशः सुधार गर्दै कोषको आवश्यकताअनुसार थप फ्युचर समेत समावेश गर्दै लगिएको र लानुपर्ने हुन्छ ।
कोषमा हाल भएका कतिपय महत्वपूर्ण कागजातलाई डिजिटल रुपमा राख्ने कार्य गर्नुपर्नेछ । यसतर्फ केही कामको सुरुआत भएको छ । यसैगरी सूचना प्रविधि क्षेत्रमा विकास भएका आधुनिक सुविधालाई कोषले पनि प्रयोगमा ल्याउनुपर्ने हुन्छ । विशेषतः हाल कृत्रिम बौद्धिकताले कार्यालयको काममा धेरै सहयोग पु¥याउने र कार्य प्रणालीमा ठूलो सहजता ल्याएको छ । कोषले पनि एआइको प्रयोग गर्ने दिशामा आवश्यक कार्य गर्नुपर्दछ ।
अन्त्यमा, कोषका सेवाग्राहीलाई के–कस्ता सन्देश दिन चाहनुहुन्छ ?
सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नुभएको छ, कोषले पनि सेवाग्राहीलाई चुस्त÷दुरुस्त र झन्झटरहित सेवा प्रदान गर्न एवं सेवाग्राहीबाट संकलित रकमलाई सुरक्षित रुपमा लगानी गरी राम्रो प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ । कोषले सहभागीलाई प्रतिफलका अतिरिक्त आफनो सामथ्र्यले भ्याएसम्म सामाजिक सुरक्षाका विभिन्न सेवा प्रदान गरिरहेको र आगामी दिनमा सामाजिक सुरक्षाको सेवालाई बढाउँदै लानेछ ।
कोषले सहभागीको अवकाश जीवनलाई सहज बनाउन आवश्यक पर्ने वित्तीय स्रोतका लागि विभिन्न अवकाश योजना सञ्चालनमा ल्याएको छ । यी अवकाश योजनाको विशेषताबारे माथि उल्लेख गरिएको छ । यसै सिलसिलामा सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत धेरैजसो कर्मचारीले कोषको योजनामा सहभागिता जनाइसक्नुभएको छ । कोषको योजनामा सहभागी हुन बाँकी रहनुभएका राष्ट्रसेबक कर्मचारीलगायत अन्य संघ–संस्थामा कार्य गर्ने कर्मचारी एवं स्वरोजगारमा रहेका आमनेपाली नागरिकलाई कोषका अवकाश योजनामा सहभागी हुनुभई अवकाश जीवनलाई आर्थिक रुपमा सुरक्षित बनाउन सबैलाई आग्रह गर्दछु ।
कतिपय नेपाली नागरिकमा नागरिक लगानी कोषका कार्यक्रम कर्मचारी लक्षित छन् भन्ने बुझाइसमेत रहेको पाइएको छ । कोषले स्वरोजगारमा रहेका, वैदेशिक रोजगारमा रहेका एवं देशका सबै भूगोलमा वसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनी एवं वैदेशिक रोजगारमा रहेकालाई लक्षित गरी नागरिक पेन्सन योजनासमेत सञ्चालनमा ल्याएको छ ।
यस योजनामा सहभागी भई सक्रिय उमेरमा कमाएको रकमलाई पेन्सन योजनामा लगानी गरेर अवकाश जीवनलाई सुरक्षित बनाउनसमेत सम्बद्ध सबैमा अनुरोध गर्दछु । कोषले सञ्चालन गरेका कार्यक्रम÷योजनामा विश्वास गरी सहभागिता जनाउनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।