March 17th, 2025

ग्रामीण विकास लघुवित्तद्वारा ग्लोबल मनी वीकमा सहभागिता

बैंकिङ खबर/ ग्लोबल मनी वीकको अवसरमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय सचेतना ¥यालीमा सहभागिता जनाएको छ ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा विगत वर्षहरु जस्तै यस वर्ष पनि देशभर ग्लोबल मनी विक २०२५ आयोजना गरिएको हो ।

सोही क्रममा चैत्र ४ गते नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको परिसरमा जम्मा भइ नगरका विभिन्न स्थानहरुमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष “ग्लोबल मनी वीक” विश्वभर मनाउँदै आइरहेको सन्दर्भमा २०२५ मार्च १७ देखि २३ (२०८१ चैत्र ४ गतेदेखि १० गतेसम्म) Think before you follow, wise money tomorrow भन्ने मूल नाराका साथ Global Money Week को १३ औं संस्करण मनाउन लागिएको हो ।

ग्लोबल मनी वीक मूलतः किशोरकिशोरी तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

यस कार्यक्रममा वित्तीय शिक्षा/साक्षरता, वित्तीय सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमलाई प्राथमिकता दिइएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोड भन्दा बढी बालबालिका र युवाहरूको बीचमा पुगिसकेको छ ।

वित्तीय प्रणालीमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको उक्त वित्तीय सचेतना ¥यालीमा यस संस्थाकोतर्फबाट आन्तरिक लेखापरीक्षण विभाग, कर्जा लगानी तथा असुली विभाग, योजना तथा वित्त व्यवस्थापन विभागका विभागीय प्रमुखहरू र अन्य अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।