February 25th, 2025

प्राथमिकता प्राप्त क्षेत्र कर्जामा राष्ट्र बैंकको लचकता

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न पाउने भएका छन्। तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको समयसीमामा कर्जा प्रवाह गर्न बैंकहरुलाई सकस भएपछि एक आपसमा कर्जा खरिद बिक्रीको व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो।

मंगलबार राष्ट्र बैंकले एकिकृत निर्देशन २०८१ मा संशाेधन गर्दै प्राथमिकता प्राप्त क्षेत्रमध्ये कृषि र उर्जा क्षेत्रमा प्रवाह भएको कर्जा एक आपसमा खरिदरबिक्री गर्न उल्लेख गरेको छ। बैंकहरुले २०८२ असार मसान्तसम्म कृषि क्षेत्रमा कुल कर्जाको १२ प्रतिशत र उर्जामा ७ प्रतिशत प्रवाह गर्नु पर्नेछ।

तोकिएको क्षेत्रमा उल्लेखित सीमामा कर्जा प्रवाह नभएमा प्रवाह नभएको कर्जा बराबर बैंकहरु हजर्ना तिर्नु पर्छ। चालु वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह गर्न सकेका छैनन्।

बैंकहरुलाई निर्देशित क्षेत्रमा कर्जा प्रवाहमा सकस भएपछि नियामकले यस्तो सहुलियतको व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाहरुले अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न एक आपसमा खरिदरबिक्री गर्न पुन खरिद सम्झौता अनुसार कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्नेछ। उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउने राष्ट बैंकले जनाएको छ।