मुक्तिनाथ विकास बैंक लि.ले ग्रामीण भेगमा बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले नवलपरासी जिल्लाको जमुनिया गाविस वडा नं. ४ स्थित गोपिगञ्जमा बैंकिङ कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले लघुवित्त सेवा प्रदान गर्नका लागि ०७१ साउन १ गतेदेखि सञ्चालनमा ल्याइएको शाखालाई सोमबार (मंसिर २७ गते) देखि बैंकिङ सेवा समेत प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो । मुक्तिनाथ विकास बैँकका अध्यक्ष मीन प्रसाद गुरुङ्गले औपचारिक रुपमा बैंकिङ कार्यालयको उद्घाटन गरेका हुन् ।
यस कार्यालयबाट नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, जमुनिया, बैदौली, बडहरा दुबौलिया, भुजहवा, दाउन्नेदेवी, गुठी प्रसौनी, गुठी सूर्यपुरा, जहदा, कुडिया, पक्लिहवा, प्रतापपुर, रामपुर खडौना, रुपौलिया, सरावल, सोमनी, ठुलो खैरटवा, त्रिवेणी सुस्ता, गाविसहरु लगायतका क्षेत्रमा बैंकिङ पहुँच पुग्नेछ । यी क्षेत्रका नागरिकहरु, उद्योगी व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक संस्था, सरकारी, गैरसरकारी संघ संस्था, कृषि पशुपालनसंग सम्बन्धित व्यवसायीहरु प्रत्यक्ष रुपमा मुक्तिनाथको यस शाखाबाट लाभान्वित हुन सक्ने छन् ।
बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जान्ु पर्दछ” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउदो ३० वटा आधुनिक बैंकिङ्ग, १७ वटा सीमित बैंकिङ्ग र २ वटा एक्स्टेन्सन काउन्टर सहित ४७ वटा लघुवित्त डेस्क कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गरिरहेको छ । यस विकास बैँकको हालसम्म कुल रु. १२ अर्ब ७६ करोड निक्षेप संकलन गरी रु. १२ अर्ब १८ करोड कर्जा लगानी गरेको छ । यस बैँकको लघुवित्त कार्यक्रममा ९५ हजार ८ सय ७४ सदस्यहरु आवद्ध रहनु भएको छ । २०७३ पौष महिनाबाट यस विकास बैँकको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा स्थानान्तरण गर्ने योजना रहेको बैंकका सीईओ भरतराज ढकालले जनाएका छन् । ।