Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अर्थतन्त्रले गति लिएपछि पाकिस्तानको शेयर बजारमा उछाल

२०८१ फाल्गुन २ गते

बैंकिङ खबर/पाकिस्तानको अर्थतन्त्रले गति लिएपछि त्यहाँको स्टक एक्सचेन्जले लगानीकर्ताहरुले बम्पर आम्दानी गरिरहेका छन् । विश्व स्तरमा पाकिस्तानी शेयर बजार लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल दिने बजार बनेपछि विदेशी लगानीकर्ताहरु पाकिस्तानतर्फ जान थालेका छन् ।

विश्वभरका बजारमा गिरावट आएको बेला पाकिस्तान स्टक एक्सचेन्जको केएसई–१०० परिसूचक १६३२ अंक वा १ दशमलव ४७ प्रतिशतले उछाल हुँदै ११३ हजार विन्दू नाघेको छ । नोभेम्बर २०२४ मा, पाकिस्तान स्टक बजार सूचकांक १ लाख अंक पार गरेको थियो। पाकिस्तानको शेयर बजारमा भएको यो वृद्धिले विश्वभरका लगानीकर्तालाई आश्चर्यमा पारेको छ । ब्ल्याकरक र ईटन भान्स कर्पोरेशन जस्ता सम्पत्ति व्यवस्थापन कम्पनीहरूले पाकिस्तानको शेयर बजारमा लगानी गरिरहेका छन् जसले सन् २०२४ मा लगानीकर्ताहरूलाई ८४ प्रतिशत प्रतिफल दिएको छ।

पाकिस्तानी शेयर बजारको आकर्षक मूल्याङ्कन र उकालो लागेको अर्थतन्त्रले लगानीकर्तालाई त्यहाँको शेयर बजारमा लगानी गर्न प्रेरित गरेको छ । ब्लूमबर्गका अनुसार चालू वर्ष २०२५ मा पाकिस्तानी शेयर बजारले लगानीकर्तालाई ४० प्रतिशतभन्दा बढी प्रतिफल दिन सक्ने विश्वास गरिएको छ ।पाकिस्तानी कम्पनीको उत्कृष्ट नतिजाका कारण विदेशी लगानीकर्ताले सेयर बजारमा लगानी बढाइरहेको लगानीकर्ताहरुको विश्वास छ ।ब्लुमबर्गको तथ्याङ्क अनुसार लीगल एन्ड जनरल इन्भेष्टमेन्ट म्यानेजमेन्ट लिमिटेड र इभली फण्ड म्यानेजमेन्ट कम्पनीले पनि पाकिस्तानी बजारमा लगानी बढाएको छ ।

जुलाई २०२४ मा, अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानी अर्थतन्त्रलाई संकटबाट जोगाउन ७ अर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो। त्यसयता त्यहाँको अर्थतन्त्र निरन्तर सुदृढ हुँदै गएको छ, जसलाई शेयर बजारमा भएको शानदार वृद्धिको प्रतीक मानिन्छ । चालु खाता मौज्दातमा पनि सुधार आएको छ र मुद्रास्फीति पनि निरन्तर घटिरहेको छ । तर पाकिस्तानी अर्थतन्त्रका लागि चुनौती सकिएको भने होइन ।छ महिनामा कर संकलनको लक्ष्य ६ प्रतिशतभन्दा कम रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले कर सङ्कलन बढाउने शर्तमा मात्रै आईएमएफलाई ७ अर्ब डलरको प्याकेज दिएको थियो ।