
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले बण्ड मार्केट (ऋणपत्र बजार)का लागि छुट्टै नियमावली बनाउने भएको छ । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सहयोमा बण्ड मार्केटको विकासका लागि अध्यन गरी छुट्टै नियमावली ल्याउने तयारी गरेको हो।
नेपालको धितोपत्र बजारमा बण्ड मार्केट विकासका लागि आईएफसीले गरेको एक अध्ययनले कानुनी संरचनामा सुधार गर्नुपर्ने औंल्याएको छ । धितोपत्र बोर्डले आईएफसीको सहयोगमा प्रभावकारीरुपमा बण्ड मार्केट सञ्चालनका लागि नियमावलीको ड्राफ्ट बनाउन लागेको हो ।
नेपालमा बण्ड मार्केटको विकासका लागि अध्ययन र कानुनी संरचनामा समेत सहयोग गर्नेगरी आईएफसीसँग सहकार्य भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डलाई आईएफसीले नेपालको समग्र पुँजीबजारको अवस्था र बण्ड मार्केटको विकासका लागि आवश्यक कानुनी र प्राविधक संरचनासमेत सिफारिस गर्दै करिब २ वर्षअघि नै अध्ययन प्रतिवेदनको ड्राफ्ट दिएको थियो । तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि करिब १ वर्ष बोर्ड अध्यक्षबिहिन हुँदा बण्ड मार्केटको आवश्यक पुर्वाधार विकास गर्न थप प्रक्रिया अगाडि बढेको थिएन । तर, बोर्डमा नयाँ अध्यक्ष आएसँगै बण्ड मार्केटको लागि छुट्टै नियमावली ल्याउन तयारी भएको हो ।
बण्ड मार्केटका लागि आवश्यक कानुनी संरचना र पुर्वाधार लागि सोमबार आईएफसीले नेपाल धितोपत्र बोर्डसँग छलफल समेत गरेको थियो । आईएफसीले तयार पारेको प्रतिवेदको आधारमा धितोपत्र बोर्डलाई आवश्यक कानुनी, नीतिगत र प्राविधिक सुधारका लागि आईएफसीले आफ्नो प्रिजेन्टेसन दिएको थियो । धितोपत्र बोर्डले आईएसीसँगको सहकार्यमा बण्ड मार्केट विकासका लागि सोमबारदेखि सुरु गरेको कार्यशाला ४ दिनसम्म चल्ने बोर्डले बताएको छ ।




