February 10th, 2025

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयकको पूर्णपाठ

बैंकिङ खबर/ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक (दोस्रो संशोधन), २०८० प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधि सभाको आइतबार बसेको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो। यो विधेयक २०८० असोज १६ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‍मा दर्ता गराएका थिए। विधेयकमाथि दफाबार छलफल गरेर अर्थ समितिले गत भदौ २५ गते संसद्‍मा प्रतिवेदन पेस गरेको थियो।

आइतबार बसेको प्रतिनिधि सभाको बैठक अर्थमन्त्री विष्णुप्रसाद पोडेलले अर्थसमितिको प्रतिवेदनसहित विधेयक छलफलका लागि सभामा पेश गरेका थिए । प्रस्तावित विधेयकमाथि कुनैपनि विरोध नपरेपछि उपसभामुख इन्दिरा रानाले उक्त विधेयक छलफलका लागि सर्वसहमति पास भएको घोषणा गरिन् ।

प्रस्तावित विधेयकमा जानीजानी चेक अनादर (चेक बाउन्स) गरेको प्रमाणित भए कसुरदारलाई काटिएको चेक बराबरको बिगो तिराउने व्यवस्था गरिएको छ । यस्तो चेक अनादरको कसुर हेरी ५ लाखसम्मको बिगो भएमा एक महिनासम्म, ५ देखि १० लाखसम्म भए ३ महिनासम्म, १० लाखभन्दा बढी ५० लाससम्म भए ६ महिनासम्म र ५० लाखभन्दा माथिको बिगोमा २ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । थप प्रस्तावित विधेयकमा कसुरदारले विगो बराबरको रकम र थप पाँच प्रतिशत जरिवाना समेत तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

अब राष्ट्रिय सभाले पनि पारित गरेपछि विधेयक प्रमाणीकरण प्रक्रियामा जानेछ।

banking kasur