
बैंकिङ खबर/ गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणा व्यापार क्षेत्र र उत्पादन क्षेत्रलाई बैंकहरूले फरक ब्याजदर तोक्नुपर्ने बताउँछिन् । राणाले व्यापार गर्ने र उत्पादन गर्ने कम्पनीलाई फरक ब्याजदर नहुँदा पनि समस्या परेको बताइन् ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन’को प्यानल डिस्कसनमा उनले भनिन्,‘बैंकको इन्ट्रेस्ट रेट ट्रेडिङ र मेनुफ्याक्चरिङलाईको बैंक ब्याजदर फरक हुनुप¥यो । किन भने ट्रेडिङ भनेको बाहिरबाट सामान ल्यायो । एक महिनामा एलसी खोलेर सामान बेचेर त्यो पैसा तिर्दा हुन्छ,’ उनले भनिन्,‘मेनुफ्याक्चरिङ भनेको सामान ल्याएर विभिन्न चरण पार गरेर तयार गर्नुपर्छ । उत्पादनमा वर्किङ क्यापिटलको साइकल नै ६ महिनाको हुन्छ । हामीलाई ट्रेडिङजस्तै गरेर इन्ट्रेस्ट दिन भएन ।’
जुत्ताको केसमा उत्पादन गरेर बजार पठाउन तीन महिना लाग्ने राणा बताउँछिन् । त्यो जुत्ता बजारमा गएर त्यसको पैसा बैंकलाई दिँदा ६ महिना लाग्ने उनले बताइन् । उत्पादनमूलक उद्योगले रोजगारी सिर्जना गरेको भन्दै यस्ता उद्योगलाई बैंकहरूले सहुलियत दिनुपर्ने उनको भनाइ छ ।


