२०८१ माघ ११ गते

जापानमा ब्याजदर १७ वर्ष यताकै उच्च

बैंकिङ खबर/ जापानको केन्द्रीय बैंक ‘बैक अफ जापान’ (बीओजे)ले ब्याजदर बढाएको छ । शुक्रबार बैंकले प्रमुख ब्याजदर बढाएर शून्य दशमलव ५ प्रतिशत आसपासमा पुर्‍याएको हो । पछिल्लो आर्थिक तथ्यांकले गएको महिना महँगी १६ महिनायताकै उच्च दरमा बढेको देखाएपछि बैंकले छोटो अवधिको ब्याजदर बढाएको थियो । योसँगै ब्याजदर १७ वर्षयताकै उच्च स्तरमा उक्लिएको छ ।

बजारमा अर्को झट्का टार्न पछिल्लो ब्याजदर वृद्धि गरेको बीओजेका गभर्नर काजुओ उएदाले भनेका छन् । शुक्रबार सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार एक वर्ष अघिको तुलनामा डिसेम्बरमा जापानमा कोर उपभोक्ता मूल्य ३ प्रतिशतले बढेको थियो । बीओजेले गरेको यो जुलाईयताको पहिलो ब्याजदर वृद्धि हो । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको केही दिनमै बैंकको यो निर्णय आएको हो ।

आफ्नो चुनावी अभियानमा ट्रम्पले अमेरिकामा बाहिरबाट आउने सबै सामानमा अतिरिक्त महसुल लगाउने चेतावनी दिएका थिए । यसले जापान जस्ता निर्यातकर्ता देशमाथि प्रभाव पार्नेछ । अहिलेका लागि ब्याजदर बढाएर आवश्यक प¥यो भने भविष्यमा ब्याजदर घटाउन बैंकले थप ठाउँ पाउनेछ ।