
बैंकिङ खबर / महालक्ष्मी विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई लक्षित गर्दै ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ । योजनाअन्तर्गत ग्राहकले हरेक सोमबार दराज नेपालबाट अनलाइन खरिद गर्दा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
योजनाअनुसार बैंकका डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट न्यूनतम १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउनेछन् । त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १ हजार ९९९ रुपैयाँको खरिदमा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका अनुसार ‘महालक्ष्मी महा सोमबार’ योजना प्रत्येक सोमबार मात्र लागू हुनेछ । छुट सीमित संख्यामा उपलब्ध हुने भएकाले पहिले आउने ग्राहकलाई प्राथमिकताका आधारमा सुविधा दिइनेछ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने, कार्डमार्फत हुने भुक्तानी विस्तार गर्ने तथा नगदरहित कारोबारलाई बढावा दिने उद्देश्यले योजना ल्याएको जनाएको छ । योजनाबाट ग्राहकले अनलाइन खरिदमा छुटसँगै डिजिटल भुक्तानीको थप सुविधा उपयोग गर्न सक्ने बैंकको अपेक्षा छ ।
महालक्ष्मी विकास बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको छ । बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।