नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चुुक्ता पुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जमा गईरहेका बेला पोखरा फाइनान्सले भने मर्जरबिनै चुक्ता पुँजी पुर्याउने योजना अघि सारेको छ । पोखरा फाइनान्स राष्ट्रिय स्तरको वित्तीय संस्था हो । केन्द्रीय बैंकको मोद्रिक नीतिअनुसार राष्ट्रिय स्तरका वित्तीय संस्थाले २०७४ असार मसान्तसम्म ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्छ ।
हाल पोखारा फाइनान्सको चुक्ता पुँजी ४९ करोड रुपैयाँ छ । पुँजीवृद्धिका लागि कम्पनीले गएको वर्षको नाफाबाट १३.५ प्रतिशत बोनस सेयर दिँदैछ । जसपश्चात् कम्पनीको चुक्तापुँजी ५५ करोड ६१ लाख रुपैयाँ पुग्नेछ ।
यसबाहेक, हकप्रद सेयर खुलाउने गरी आगामी साधारणसभामा प्रस्ताव लैजाने योजना पोखरा फाइनान्सको छ । फाइनान्सले एफपीओ जारी गरेर अघि बढ्ने योजना समेत बनाएको छ । एफपिओका लागि क्रेडिट रेटिङ संस्थाले रेटिङ गरेपछि त्यसैअनुसारको मूल्यअंकित एफपीओ जारी गर्ने पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।