
बैंकिङ खबर/ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बैंकको ब्याजदर हेरफेर भइरहने हुँदा व्यवसायीहरु मर्कामा पर्ने गरेको बताएका छन् ।
मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष पाण्डेले भने, ‘बैंकले कर्जा दिँदा एफडीको १४ प्रतिशत पुर्याएर दिने अवस्था छ । उद्योगी, व्यवसायीलाई बैंकहरुले सहजै रुपमा ऋण दिने व्यवस्था हुनुपर्छ ।’
जग्गा धितो नभइ बैंकहरुबाट ऋण नपाउने अवस्था रहेको भन्दै अध्यक्ष पाण्डेले भने,‘जबसम्म राष्ट्र बैंकले धितो नभइ लोन दिने सिस्टम हटाउँदैन तबसम्म युवा पुस्ता यहाँ टिक्ने अवस्था छैन ।’ यस्तै उनले नेपालमा रहेका व्यवसायीलाई अहिले टिकाउनै मुस्किल रहेको बताए । व्यापार विनिमय सन्तुलित हुनुपर्ने उनको भनाइ छ । डलरको भाउ बढेका कारण केही हदसम्म नेपालको पर्यटन क्षेत्र टिकेको उनले बताए ।
नेपालमा वास्तविक किसानले अनुदान नपाएको उनले बताए । सरकारले किसानलाई उत्पादन वस्तुको आम्दानी निश्चित गर्नुपर्ने उनको भनाइ छ । राज्यले भाषणमा मात्र कृषिलाई प्राथमिकता दिएको उनले बताए । उनले भने, ‘कृषि क्षेत्रलाई उकास्न राज्यले विशेष ध्यान दिनुपर्छ । वास्तविक किसानले अनुदान पाएका छैनन् ।’ विदेशी लगानी नभइ नेपालमा पुँजी र प्रविधिक भित्रिन नसक्ने भन्दै उनले नेपालको अर्थतन्त्र उकास्न विदेशी लगानीको खाँचो रहेको बताए । यस्तै उनले नेपालको अर्थतन्त्र विकराल अवस्थामा पुगेको बताए ।
सहकारी क्षेत्रलाई राज्यले अनुगमन र नियमन गर्न आवश्यक रहेको उनले बताए । यस्तै अध्यक्ष पाण्डेले अहिले कम्पनीहरुले १० वर्षपछि आइपीओ ल्याएर पैसा उठाउन खोजेको र झुट्टा कागज देखाएर जनतको पैसा उठाउने, लगानी गर्ने र भाग्ने अवस्था रहेको भन्दै यसलाई राज्यले रोक्नुपर्ने बताए । कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजानुपर्ने उनको भनाइ छ ।
नेपालमा हरेक क्षेत्रमा निराशा मात्रै रहेको भन्दै जुन देशमा व्यवसाय गर्ने वातवारण हुँदैन त्यो देश विकास सम्भव नहुने उनले बताए । देशको अर्थतन्त्र शिथिल हुँदा बैंकहरु २५, ३० प्रतिशतसम्म फाइदा लिने तर उद्योगी व्यवसायीहरु भने सँधै घाटामा जाने स्थिति रहेको उनले बताए ।



